आयल निगमका प्रमुख र डिजीबीच बोलचाल बन्द: नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट र नायब कार्यकारी निर्देशक (डिजिएम) दीपक बरालबिचको सम्बन्ध चिसिएको छ । दुवैबिच दशैंयता चिसिएको सम्बन्ध अहिले बोलचाल बन्दसम्म पुगेको हो ।
कार्यकारी निर्देशक भट्टसँग टसल बढ्दै गएको बरालले पनि स्वीकार गरेका छन् । उनले व्यक्तिगत नभई ‘अफिसियल’ काममा केही असन्तुष्टि राख्दा सम्बन्ध सुमधुर हुन नसकेको बताए । ‘हामीबिच ठूलो समस्या भएको होइन, कार्यालयको विभिन्न कामहरु गर्दा प्रकृयागत बिषयमा मैले सल्लाह सुझाव दिँदा नोकजोक भयो’ उनले भने, ‘तर, अहिले ठीक भइसकेको छ ।’
तर, उनीहरुबिच बिग्रिएको सम्बन्ध सुधार भइनसकेको स्रोतको दाबी छ । दुईबिचको सम्बन्ध सुधार नभएकै कारण आयल निगम संचालक समिति अध्यक्षसमेत रहेका बाणिज्य तथा आपूर्ती सचिव गोबिन्दबहादुर कार्की र कार्यकारी निर्देशक डा. भट्ट अमलेखगञ्ज, चितवन र भैरहवामा निर्माणधिन परियोजनाको अवलोकन गर्न जाँदा बराल छुटेका छन् ।
बराल निगमको सबैभन्दा महत्वपूर्ण इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभाग प्रमुखसमेत हुन् । यो विभागले ठूला परियोजना निर्माण र संचालन गर्ने हुँदा चालू आर्थिक बर्ष ०८१–८२ मा सबैभन्दा बढी सवाँ तीन अर्ब बजेट परिचालनको जिम्मेवारी समेत लिएको छ ।
यहीं विभाग मातहत भइरहेको परियोजनाको प्रगति निरिक्षण गर्न सचिव नेतृत्वको टोली जाँदा कार्यकारी निर्देशक भट्टले बराललाई लगेका छैनन् । बरु उपनिर्देशक प्रदिप यादव टोलीमासँगै छन् । जबकी परियोजना निरिक्षण गर्दा इन्जिनियरिङ विभागको प्रतिनिधित्व अनिवार्य जस्तै हुन्छ ।
सचिव कार्की नेतृत्वको टोलीले सोमबार अमलेखगञ्जस्थित पाइपलाइन परियोजना र चितवनको लोथरस्थित नयाँ जग्गाको निरिक्षण गरेको छ । सौराहाबाट मंगलबार निस्केको टोली साँझ भैरहवा पुगेका थियो । बुधबार बिहान करिब १० बजे टोलीले रोहिणी नदी किनारमा निर्माणाधिन नयाँ डिपोको निरिक्षण गरेको थियो । त्यस्तै दिउँसो भलवारीस्थित लुम्बिनी प्रादेशिक कार्यालयको निरिक्षण गरेर बुधबार राती टोली काठमाडौं फर्किएको छ ।
गत फागुनमा कार्यकारी निर्देशक नियुक्त भएयता भट्टले शुरुका दिनबाट नै साना–ठूला निरिक्षणमा बराललाई नछुटाई सँगै लैजाने गरेका थिए । तर, यसपटक कम्पनी अध्यक्ष कार्कीसहितको टोलीमा बराललाई नराखिनु दुवैबिचको सम्बन्धमा ‘ग्रहण’ लागेको अर्थमा बुझ्नुपर्ने एक कर्मचारीले बताए ।
‘यसअघि भट्ट सरसँगै बराल सर पनि निरिक्षणमा निस्कने गर्नुहुन्थ्यो । अहिले सम्बन्ध बिग्रिएको हल्ला भएकै बेला उहाँ .(बराल) छुट्नु भनेको दुवैबिच टसल छ भन्ने नै हो’ स्रोतले भन्यो । स्रोतका अनुसार कार्यकारी निर्देशक भट्ट भारतले अनुदानमा बनाइदिने पाइपलाइन र भण्डारण गृह तथा आयल निगमले सिनामंगल, भैरहवा र धनगढी डिपो स्थानान्तरण गर्न खोजेको परियोजना छिटो र छोटो बाटोबाट अघि बढाउन चाहिरहेका छन् ।
तर, यी सबै परियोजना हेर्न इन्जिनियरिङ विभाग प्रमुख बरालले भने अवरोध गर्दै आएको भट्टको बुझाई छ । भट्टले पछिल्लो समय इन्जिनियरिङ विभागको नेतृत्व हेरफेर गर्न सुझावसमेत लिन थालेका छन् ।
आयल निगम भित्र बराल छुद्र स्वभावका मानिन्छन् । आफुलाई मन नपरेको बिषयमा छलफल भए अरुलाई बिझाउने गरी तिखो भाषामा तुरुन्तै जवाफ दिने उनको स्वभाव छ । यो स्वभावलाई लिएर कार्यकारी निर्देशक भट्टले पटक पटक अन्य डिजिएम र निर्देशकहरुसँग असन्तुष्टि पोखेको स्रोतको भनाई छ ।
दुवैबिचको बढ्दो टकराव रोक्न उपल्लो तहका कर्मचारीको सुझावका आधारमा भट्टले बरालसँग नजिक रहेर काम गरिरहेका उपनिर्देशकद्वय अभिषेक ठाकुर र शैलैन्द्र महतोलाई क्रमशः अमलेखगञ्ज– चितवन पाइपलाइन र सिलगुढी–झापा पाइपलाइन तथा भण्डारण परियोजनाको प्रमुख तोकेका छन् ।
आफु निकटका दुई बरिष्ठ कर्मचारीले महत्वपूर्ण जिम्मेवारी पाउँदा बराल केही लचक हुने र लामो समय रिस नसाँध्ने स्वभावका भट्ट पनि सम्बन्ध सुधारका लागि तयार हुने कर्मचारीहरुको बुझाई थियो । तर, ठाकुर र महतोले जिम्मेवारी पाएको करिब दुई हप्ता बित्न लाग्दा पनि दुवैबिचको टसल घटेको छैन ।
प्रतिबद्धता गरेअनुसार कार्यकारी निर्देशक भट्टको काम नगर्ने स्वभावबाट भने आजित भएको भन्दै बरालले निकटस्थहरुसँग गुनासो गर्ने गरेका छन् । कतिपय कामहरुको फलोअप गर्दा ‘बिर्सेछु’ भन्ने कार्यकारी निर्देशक भट्टको जवाफले पनि कर्मचारीहरु दिक्क छन् ।
अहिले आयल निगमका कर्मचारीहरु कार्यकारी निर्देशक भट्टलाई बिर्सने रोग लागेको छ की क्या हो भनेर आपसमा ठट्टासमेत गर्ने गरेका छन् ।
बरालसँगको बिग्रदो सम्बन्धबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा भट्टले उपत्यका बाहिर रहेको भन्दै पन्छिए । दुवैको बिग्रदो सम्बन्धले निरन्तरता पाए निगमले अघि बढाएका ठूला परियोजना अघि बढाउन भने समस्या हुने कर्मचारीको चिन्ता छ ।