रवि लामिछानेलाई राती नै पोखरा लगियो : सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलनमा सघाएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले बुधबार राती नै चितवनबाट पोखरा लगेको छ ।
बिहान लैजादा उनका समर्थकहरुको भिडभाड हुनसक्ने भएपछि प्रहरीले राती नै सडकमार्ग हुँदै पोखरा लगेको हो ।
चितवनको सहारा सहकारीको विषयमा अनुसन्धान गर्न प्रहरीले मंगलबार उनलाई चितवन लगेको थियो ।
बयान सकिएपछि बुधबार बेलुका नै लामिछानेलाई पोखरा पठाइएको चितवनका एसपी गौतम मिश्रले बताए । बुधबार बयान चलिरहँदा सडकमा रास्वपाका कार्यकर्ता र प्रहरीबीच भरतपुरमा झडप भएको थियो ।
लामिछानेविरुद्ध बुधबार मात्र पर्सामा पनि पक्राउ पूर्जी जारी भएको छ ।
गितेन्द्रबाबु(जिबी) राईको समूहले सञ्चालन गरेको वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गैरकानुनी रुपमा गएको पाइएपछि पर्सामा पनि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको हो ।
यसअघि उनको कास्की, रुपन्देही र काठमाडौंमा बयान भइसकेको छ । जिबी राईको समूहले सञ्चालन गरेका पाँच वटा सहकारीको रकम गैरकानुनी रुपमा गोर्खा मिडिया लगायत कम्पनीमा लगिएको थियो ।
लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा कम्पनीको रकम खर्च गर्न उनको पनि भूमिका रहेको दाबी गरी पाँच जिल्लामा उनीविरुद्ध मुद्दा दायर हुन लागेको हो ।
सहकारी ठगीसहित संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा उनीमाथि दायर गर्न लागिएको छ ।
रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनीमाथि मुद्दा दायर भएको आरोप लगाउँदै आएको छ ।