हवाईभाडा १२५ रुपैयाँसम्म वृद्धि

हवाईभाडा १२५ रुपैयाँसम्म वृद्धि: आयल निगम लिमिटेडले गत शनिबार हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको कारण देखाउँदै जहाजभाडा एक सय २५ रुपैयाँसम्म वृद्धि गरिने भएको छ ।

इन्धन मूल्यमा भएको वृद्धिले समग्र खर्चमा असर गरेको भन्दै भाडादर वृद्धिको निर्णय भएको नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ ।

बुधबारबाट हुने उडानमा वृद्धि भएको भाडादर लागू गर्न पनि क्यानले वायुसेवा निगमलाई पत्राचार गरेको छ ।

सबैभन्दा धेरै विराटनगर–धनगढी एक सय २१ मिनेटको उडानमा प्रतियात्रु एक सय २५ रुपैयाँ जहाजभाडा वृद्धिको सिफारिस गरिएको छ ।

यो रुटको भाडादरमा इन्धन खर्चबापत न्यूनतम आठ हजार एक सय १५ रुपैयाँ लिने गरेकोमा बुधबारदेखि आठ हजार दुई सय ४० रुपैयाँ जोडेर टिकट मूल्य निर्धारण गर्न पाइने क्यानले जनाएको छ ।

यद्यपि, क्यानले सिफारिस गर्दै आएको न्यूनतम भाडादर वायुसेवाले लागू गर्ने गरेका छैनन् ।

बुधबारबाट लागू हुने नयाँ भाडादरअनुसार सबैभन्दा कम काठमाडौं–सिमरा रुटका लागि १५ रुपैयाँ वृद्धि हुने भएको छ । यो रुटमा १६ मिनेटको उडान हुने गरेको छ ।

यो रुटमा उडान हुँदा प्रतिटिकट मूल्यमा एक हजार एक सय ३५ रुपैयाँ इन्धन खर्चबापत जोडिने गरेकोमा बुधबारदेखि एक हजार एक सय ५० रुपैयाँ जोडेर टिकट मूल्य निर्धारण हुनेछ ।

क्यानले माउन्टेन फ्लाइटसहित ५५ गन्तव्यमा हुने उडानका लागि बढेको हवाई इन्धनअनुसार जहाजको नयाँ भाडादर लागू गर्न वायुसेवा कम्पनीलाई सिफारिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *