सडक विस्तारमा पुराना गल्ती सच्याइँदै

सडक विस्तारमा पुराना गल्ती सच्याइँदै: सडक विस्तार र स्तरोन्नति क्रममा लामो समय लाग्ने र त्यसले आमयात्रुको आवतजावत कष्टकर बन्दै गएपछि सरकारले नयाँ आयोजनामा गल्ती सच्याउने भएको छ ।

अब लाग्ने हरेक ठेक्कामा एकै पटक सडक भत्काउन नपाइने गरी गल्ती सच्याइने भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले बुटवल–गोरुसिङ्गे सडकबाटै यस्तो गल्ती सच्याइने बताए ।

‘विगतमा सडक विस्तारका क्रममा एकै पटक सबै भत्काउने र त्यसको निर्माणमा ढिलाइ हुँदा धेरै नै सास्ती भोग्नुपर्‍यो,’ उनले भने, ‘अब यो गल्ती नहुने गरी सडक निर्माण र विस्तार हुनेछ ।’

मन्त्रालयका अनुसार अब सडक विस्तार क्रममा नियमित सञ्चालन हुने सवारीसाधन आवतजावतमा कम असर पर्ने गरी निर्माणको काम गरिने छ ।

त्यस अन्तर्गत क्रसिङ, कल्भर्ट, पुल र सर्भिस लेनको काम चालु रहेसम्म बीचको मूल सडक भत्काइने छैन ।

मुल सडक भत्काउँदा समेत पहिलो दुई लेनको काम सम्पन्न भएपछि मात्र दोस्रो दुई लेन भत्काएर निर्माण गरिने सचिव शर्माले जानकारी दिए ।

सडक विस्तार क्रममा सबैभन्दा धेरै सास्ती यात्रुले बुटवल–नारायणघाट सडकमा आएका छन् । सरकारले यस आयोजनामा बढी गालीसमेत पाएको छ ।

निर्माण व्यवसायीले सम्झौता अनुसार काम नगरेपछि त्यसको मारमा विकासे आयोजना परेका छन् ।

सचिव शर्माका अनुसार आगामी निर्माण र विस्तार क्रममा रहेका सबै आयोजनामा सोही अनुसार ठेक्का सम्झौता गरिएको छ ।

‘कतिपय कुरा विगतका अभ्यासबाट पनि पाठ सिक्नुपर्ने हुन्छ,’ उनले भने, ‘निर्माण सुरु नहुँदा जथाभावी सडक भत्काउन अब दिँदैनौं ।’

सडक विस्तार गर्दा एक छेउबाट काम सुरु गर्ने र अर्को छेउसम्म पुग्दा वर्षौं लाग्ने समस्या रहेको भन्दै मन्त्रालयले अब दुवै छेउबाट काम थाल्ने समेत जनाएको छ ।

यसका साथै निश्चित किलोमिटरमा मात्र काम थालेर त्यो सम्पन्न भएपछि थप सडकमा काम थाल्ने गरी आयोजना अगाडि बढाउने मन्त्रालयको तयारी छ ।

उता, बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयले समेत सडक विस्तार क्रममा पूर्वतयारीका काम सम्पन्न गरेपछि मात्र सडक भत्काउने तयारी गरेको छ ।

सडक विस्तार थाल्नु अगाडिका काम सम्पन्न गर्न केही समय लाग्ने र त्यसपछि मात्र खन्ने काम थालिने आयोजनाले जनाएको छ ।

पूर्वतयारी अन्तर्गत निर्माण सामग्री साइटमा लैजाने, सडक क्षेत्राधिकारमा रहेका संरचना हटाउने, रुख कटान, पुल र अन्डरपास निर्माण गर्न माटो परीक्षण जस्ता काम हुनेछन् ।

पूर्व–पश्चिम राजमार्ग बढी सवारीसाधन गुड्ने नेपालको ‘लाइफलाइन’ राजमार्ग हो । उक्त राजमार्ग अहिले विभिन्न खण्डमा बाँडेर चार लेनमा विस्तार गर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *