विस्तार हुँदैछ मध्यरातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल: सधै मध्यरातसम्म चहलपहल हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन सोमबार राती साढे १० बजे नै सुनसान भइसकेको थियो । त्यहाँ न कुनै यात्रुहरु देखिन्थे, न यात्रुलाई लिन वा छाड्न आएका आफन्त नै ।
रातको २ बजेसम्म अन्तर्राष्ट्रिय उडानहरु हुने हुँदा रातीसम्मै यात्रु र यात्रुका आफन्तले टर्मिनल भवन भरिभराउ हुन्थे । तर, २३ कात्तिकदेखि त्रिभुवन विमानस्थल १० बजेपछि सुनसान हुन थालेको छ । यात्रुको चाप भने ९ बजेदेखि नै कम हुन थालेको त्रिभुवन विमानस्थलका कर्मचारी बताउँछन् ।
बाहिरका ट्याक्सी/मोटरसाइकल पार्किङ क्षेत्र, टर्मिनल भवनलगायत सुनसान बन्दै जाँदा विमानस्थल भित्रको एयर स्पेश क्षेत्रमा भने चहलपहल बढ्न थालेको छ । अहिले मध्यरातमा विमानस्थल बन्द गरेरै समानान्तर ट्याक्सी वे, उत्तरतर्फ (पशुपति क्षेत्र) इन्टरनशेनल एप्रोन, पूर्वतर्फ ह्याङ्गर एप्रोन, साउथतर्फ (कोटेश्वरतर्फ) ट्याक्सी वे विस्तारका कामहरु भइरहेका छन् ।
सोमबार साढे १० बजे पर्यटनमन्त्री बद्री पाण्डेसहित अवलोकनका लागि विमानस्थलको धावनमार्ग क्षेत्रमा पुग्दा त्यहाँ ठूलो संख्यामा कामदार, दर्जनौं स्काभेटर, डोजर, लोडर, टिपरले काम गरिरहेको देखिन्थ्यो ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले २३ कात्तिकदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम गरिरहेको छ । धावनमार्गबाट ७५ मिटरभन्दा बाहिर पर्ने अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सीलगायतका कामहरु यसअघिदेखि नै भइरहेका थिए । अहिले ७५ मिटरभित्र पर्ने ट्याक्सी वे विस्तारका लागि उडान अवतरण बन्द गर्नुपरेको क्यानको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।
१८ चैतसम्म धावनमार्गबाट ७५ मिटर दुरीमा पर्ने सबै संरचना निर्माण गरिसक्ने लक्ष्य लिइएको छ । ‘१० घण्टा विमानस्थल बन्द गरेर निर्माणको काम तीब्र गतिमा सबै साइडमा भइरहेको देखियो,’ विमानस्थल अवलोनमा पुगेका मन्त्री पाण्डेले पत्रकारसँग भने, ‘१८ चैतभन्दा पहिला नै निर्माण सम्पन्न हुन्छ की भन्ने अहिलेको युद्धस्तरमा भइरहेको कामले देखाएको छ ।’
विमानस्थलको उत्तरतर्फ पुग्दा धमाधम अन्तर्राष्ट्रिय एप्रोन निर्माण भइरहेको थियो । त्यहाँ ६ वटा वाइडबडी र ६ वटा न्यारोबडी जहाज पार्किङ गर्न मिल्नेछ । २७ मिटरसम्म गहिरो खोँचमा माटो फिलिङ गरेर एप्रोन निर्माण कार्य जारी छ । एप्रोन निर्माण अन्तिम चरणमा पुग्न थालेको परियोजना प्रमुख श्रेष्ठले बताए । एप्रोन क्षेत्र ७५ मिटरभन्दा बाहिर पर्ने हुँदा दिनरात काम भइरहेको छ ।
विमानस्थलको दक्षिण–पश्चिमतर्फ धावनमार्गसँग समानान्तर हुने गरी ट्याक्सी वे, धावनमार्ग प्रवेश गर्ने ट्याक्सी वे र विमानस्थलको पूर्वतर्फ ‘ह्यांगर एप्रोन’ लगायत विस्तारका काम भइरहेका छन् ।
क्षमता विस्तारको काम सम्पन्न हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २० देखि २५ प्रतिशत क्षमता अभिवृद्धि हुने क्यानको अनुमान छ । उदाहरणका लागि अहिले दैनिक १०० उडान हुँदै आइरहेका थिए भने क्षमता विस्तारपछि १२५ वटासम्म उडान गर्न सकिने छ ।
विमानस्थ विस्तार गुरुयोजना अन्तर्गत तीन हजार मिटरको धावनमार्ग विस्तार गरेर ३३ सय मिटरभन्दा लामो बनाइएको छ । चारवटा ठूला जहाज अटाउने अन्तर्राष्ट्रिय एप्रोन पनि तयार भइसकेको छ । अहिले त्रिभुवन विमानस्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक जहाज पार्किङ क्षमता छ । यी कामहरु पुरा गर्न करिव १५ अर्ब रुपैयाँ खर्च लाग्ने छ ।
विमानस्थलको क्षमता अभिवृद्धिका लागि भइरहेका कामको अवलोकन गर्दै मन्त्री पाण्डेले निर्माणको काम तीब्र गतिमा काम भइरहेको भन्दै समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरे । ठूलो संख्यामा विभिन्न जनशक्ति र उपकरणको प्रभावकारी परिचालन गरेर युद्धस्तरमा भइरहेको निर्माणले विकासे आयोजनाको कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उनको भनाई थियो ।
मन्त्री पाण्डेले अहिले भइरहेको निर्माणको काम सन्तोषजनक रहेको भन्दै निर्धारित समयमै निर्माणको काम सकेर विमानस्थलको उडान सेवा प्रभावकारी बनाउनेतर्फ जोड दिए ।