बुटवल-गोरुसिंगे विस्तारमा ७ हजार रुख काटिने

बुटवल-गोरुसिंगे विस्तारमा ७ हजार रुख काटिने: ५० किलोमिटर लामो दुरीको बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको क्रममा करिब सात हजार रुख काटिने भएको छ ।

तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरूसिङ्गे सडकखण्ड आगामी माघ महिनादेखि विस्तारको काम सुरु हुँदैछ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा काम पूरा गर्ने गरी गत असार १३ गते ठेक्का पाएका थिए ।

ठेक्का सम्झौता भएको मितिले तीन वर्षभित्र सडक निर्माण सक्ने सम्झौता छ ।

आयोजनाका अनुसार सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ ।

त्यसका लागि निर्माण व्यवसायीहरुले सडक क्षेत्रमा आवश्यक तयारीका काम सुरु गरिसकेका छन् ।

विस्तार हुने सडक क्षेत्रको नापजाँच, सर्भे, विद्युत पोल सार्ने, सडक क्षेत्र मिचेर बनेका संरचना खाली गराउने, माटो परीक्षण र रुख कटानको अनुमति लिने प्रक्रिया पुरा भैसकेको छ ।

सडक विस्तारकै लागि सडक किनारमा रहेका करिव सात हजार बढी रूख काट्न सडक विभागले स्वीकृति दिइसकेको आयोजना प्रमुख कुशलता न्यौपानेले जानकारी दिइन् ।

उनका अनुसार काटिने रुखमा मार्किङ गर्ने काम सम्पन्न भैसकेको छ ।

सडक क्षेत्रभित्र बनेका संरचनालाई घर धनीले आफैं भत्काएर क्षतिपूर्ति समेत लिइसकेका छन् ।

ठूलो परियोजना भएकाले पूर्व तयारीका काम धेरै हुने र अन्तर्राष्ट्रिय परामर्शदाताले निर्माण सामग्रीको गुणस्तर परीक्षण गरेर मात्र निर्माणको अनुमति दिने भएकाले पूर्व तयारीको काम धमाधम भैरहेको उनले बताइन् ।

‘सडक विस्तारका क्रममा आवश्यक पर्ने तयारी अन्तर्गत निर्माण सामग्रीहरु ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचनाहरु हटाउने, कटान गर्ने रुखको अन्तिम गणना गर्ने, पुल बनाउने र अण्डरपास हुने स्थानको माटो परीक्षण गर्ने लगायतका काम भइरहेको छ’ इन्जिनियर न्यौपानेले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *