अरनिको राजमार्ग मर्मतमा ढिलाइ किन?

अरनिको राजमार्ग मर्मतमा ढिलाइ किन?: चिनियाँ नाकाबाट नेपालतर्फ छिर्ने बित्तिकै अरनिको राजमार्ग सुरु हुन्छ । नाकाबाट तातोपानी बजार हुँदै ठुल्ठूला कन्टेनर कुद्ने भए पनि सडक सानो र साँघुरो छ ।

त्यसमाथि गत असोज दोस्रो साता आएको बाढीले विभिन्न स्थानमा क्षति गर्दा यो राजमार्गबाट सामान ल्याउन निकै कष्टकर यात्रा गर्नुपर्छ । अधिकांश स्थानको सडक एकतर्फी छ ।

बाढी–पहिरोपछि धेरै स्थानमा अस्थायी डाइभर्सन राखेर सडक सञ्चालनमा ल्याइएको छ । त्यसकारण सडक कच्ची छ । ठूला कन्टेनर धेरै कुद्ने भएपछि बाह्रबिसेदेखि लार्चा र तातोपानी हुँदै नाकासम्मकै यात्रा जोखिमपूर्ण छ ।

‘बाटो गतिलो भयो भने यहाँ तातोपानी नुहाउन आउने मान्छेको भीड लाग्थ्यो तर अहिले बाटोकै कारण मान्छे कम आएका छन्,’ तातोपानी बजारका स्थानीय साङ्बु शेर्पा भन्छन्, ‘एक त सानो बाटो छ, फेरि झ्यार्र पानी पर्‍यो भने बन्द भइहाल्छ ।’

उनले चीनतर्फ उच्च गुणस्तरको बाटो बने पनि नेपालतर्फ गतिलो नहुँदा चिनियाँ व्यापारीको हेर्ने दृष्टिकोण समेत नराम्रो रहेको बताए ।

‘नेपालसँग व्यापारको कुरा गर्न चिनियाँ आउँदा यहाँको बाटो देखेर तर्सिन्छन् । नत्र यो बाटो हुँदै खासाबाट आउने, कुटीबाट आउने चिनियाँलाई ल्याउन सकिन्थ्यो,’ उनले भने ।

उनका अनुसार अहिले तातोपानीबाट कोदारी हुँदै लार्चासम्म ठूला कन्टनेर आउँदा जाम हुन्छ । लार्चादेखि बाह्रबिसेसम्मको बाटो पनि उस्तै अप्ठ्यारो खालको छ ।

बाटोको दूरवस्थाले चीनबाट भित्रिने नयाँ गाडी पनि खराब हुने खतरा रहेको सवारी चालकहरू बताउँछन् ।

‘अब हामीले नयाँ गाडी ल्याएको हुन्छौं, एक मिटरसम्म अग्ला ढिस्का छन्, अब भन्नुस् त नयाँ गाडीको हालत के हुन्छ ? यो काठमाडौं लगेर सफा गरेर बेच्ने हो,’ लार्चामा नयाँ गाडी ल्याउने एक सवारी चालक भन्छन्, ‘त्यसमाथि कहिलेकाहीँ कन्टेनर लाइन लागेर आउँदा आधा घण्टासम्म ढिला हुन्छ ।’

लार्चामा भन्सार आएको सामान छुटाउन पुगेका एक व्यवसायी भन्छन्, ‘बाटो राम्रो हुने हो भने काठमाडौंमा भित्रिने सामान अहिलेभन्दा सस्तो पर्छ । चीनबाट भित्र्याएको सामान नेपालको बाटोकै कारण ढुवानी भाडा धेरै महँगो हुन्छ ।’

बाटो खराब हुँदा तातोपानी जाने पर्यटक समेत घटेको व्यवसायी बताउँछन् । ‘बिहान यहाँ आएर दिउँसो काठमाडौं फर्कने गरी आन्तरिक पर्यटक आउन खोज्छन् तर बाटोकै कारण धेरै आउन मान्दैनन ।

लामो बाटो छैन तर असहज हुँदा सधैं सास्ती छ,’ भोटेकोशी किनारमा होटल व्यवसाय गरिरेहका सूर्यलाल श्रेष्ठ भन्छन् ।

उनले भने जस्तै बाटो खराब भएकै कारण अहिले भोटेकोशी किनारमा रहेका कतिपय व्यवसायमा सुक्खा लागेको छ ।

‘यहाँ आएर रमाउन खोज्छन् तर बाटो नै देखेर तर्सिन्छन् । बाह्रबिसेदेखि उँभो लागेपछि मान्छे दोहो¥याएर हिँड्न नपरे झैं गर्छन् । धुलिखेल–खावाको बाटो पनि उस्तै छ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *