बिर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै

बिर्तामोडका ६ वटा सडक धमाधम स्तरोन्नति हुँदै: बिर्तामोड नगरपालिकामा सघन सहरी विकास कार्यक्रमअन्तर्गत ६ वटा सडकको धमाधम स्तरोन्नति भइरहेको छ भने सामुदायिक भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

सहरी विकास मन्त्रालयले बिर्तामोड नगरपालिकालाई सडक स्तरोन्नति गर्न चालू आर्थिक वर्षमा १३ करोड बजेट विनियोजन गरेको थियो ।

उक्त रकममध्ये  ६ करोड ३१ लाख ३२ हजार ६०२ को लागतमा ६ वटा सडक कालोपत्र थालिएको छ ।

बाँकी रकमबाट वडा नं. ६ को हरियाली सामुदायिक वनमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण जारी छ । उक्त भवनको ९० प्रतिशत निर्माण पूरा भएको छ ।

नगरप्रमुख पवित्रा महतराका अनुसार वडा नम्बर १, २, ३, ६ र ८ का केही सडक कालोपत्र भइरहेका छन् भने केहीको स्तराेन्नति एवं कालोपत्रका निम्ति पूर्वतयारीका काम जारी छन् ।

वडा नम्बर १ को धर्मकाँटा उत्तर लोकतान्त्रिक मार्ग र वडा नम्बर २ को बानालाल मार्गमा सडक धमाधम निर्माण भइरहेको छ । सो सडकमा विद्युतका खम्बा व्यवस्थापन भइरहेको छ ।

वडा नम्बर ३ को करेलाबारीबाट ग्रामकाली टोल हुँदै विराटपोखरा विद्यालयसम्मको सडक र वडा नम्बर ८ को गरामनी–कटहरडाँगी–हल्दीबारी सडकमा कालोपत्र गर्न थालिएको छ  ।

हालसम्म पूर्व–पश्चिम राजमार्गबाट दक्षिण बुट्टाबारी–बिर्ताबजार सडकको एक हजार २४० मिटर खण्डको काम पूरा भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *