बाह्रबिसे सबस्टेसन ७० प्रतिशत निर्माण

बाह्रबिसे सबस्टेसन ७० प्रतिशत निर्माण: सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माण भइरहेको चार सय किलोभोल्ट (केभी)को सबस्टेसन निर्माण ७० प्रतिशत सम्पन्न भएको छ ।

तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोला–नालामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न बाह्रबिसे सबस्टेसन निर्माण सुरु गरिएको हो ।

सोही स्थानमा २२०÷१३२ केभी र १३२÷११ केभी सबस्टेसन निर्माण सम्पन्न गरी उपकरणहरूको परीक्षण सम्पन्न भइसकेको छ । सबस्टेसन निर्माण आगामी जेठभित्र सम्पन्न गर्ने गरी काम धमाधम भइरहेको छ ।

ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित चार सय केभी बाह्रबिसे सबस्टेसनका सम्पूर्ण उपकरण निर्माणस्थलमा आपूर्ति भइसकेका छन् ।

पावर ट्रान्सफर्मर राख्ने सिभिल संरचनाको निर्माणसम्पन्न गरी जडान भइरहेको छ । नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरू रहने भवनको सिभिल संरचना निर्माणाधीन छन् ।

सिभिल संरचनाहरूको निर्माण सम्पन्न भएपछि उपकरणहरूको जडान सुरु हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार सबस्टेसन निर्माणस्थलको अनुगमन गरी तोकिएको समयभन्दा अघि नै सम्पूर्ण काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई आग्रह गरे ।

‘चार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण सम्पन्न भएपछि बलेफी तथा भोटेकोशी नदी करिडोरमा निर्माण भएका जलविद्युत् आयोजनाको विद्युत् यही सबस्टेसनमा जोडी बाह्रबिसे–खिम्ती चार सय केभी प्रसारणलाइनमार्फत ढल्केबरतर्फ पठाउन सकिन्छ,’ उनले भने, ‘हिउँदयाममा खिम्तीतर्फबाट काठमाडौं उपत्यकामा थप विद्युत् ल्याउन सकिन्छ भने वर्षायाममा ढल्केबरतर्फ थप विद्युत् पठाएर भारततर्फ निर्यात गर्न सकिन्छ, त्यसैले सबस्टेसन निर्माणलाई उच्च प्राथमिकतामा राखी बाँकी रहेका काम द्रुत गतिमा अगाडि बढाऔँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *