बागलुङ र पर्वतमा पाँच पुल बन्दै

बागलुङ र पर्वतमा पाँच पुल बन्दै: मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ र पर्वतमा एकैपटक पाँचवटा पुल निर्माण सुरु गरिएको छ । बागलुङको काठेखोलामा एउटा र पर्वतमा चारवटा पुल निर्माण थालिएको हो ।

मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका अनुसार काठेखोला, पर्वतको डिमुवा सुन्दरेखोलामा पुल निर्माण सुरु भइसकेको छ भने मोदीखोलामा दुईवटा पुलको काम यही मंसिरभित्र सुरु हुने भएको छ ।

पातीखोलामा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको लोकमार्ग कार्यालय पर्वतकी सबइन्जिनियर अस्मिता भट्टराईले जानकारी दिइन् ।

काठेखोला, पातीखोला र मोदीखोलामा पुल बनेर यातायात सञ्चालन गरिए पनि लोकमार्ग फराकिलो बनाएपछि पुललाई थप चौडा बनाइने उनको भनाइ छ ।

उनका अनुसार काठेखोला, डिमुवा सुन्दरेखोला र मोदीखोलामा एक–एक र पातीखोला दुईवटा पुल निर्माण गर्न लागिएको हो ।

सबइन्जिनियर भट्टराईले भनिन्, ‘सुन्दरेखोलामा अहिलेसम्म पुल बनेकै थिएन, यहाँ आवश्यक देखिएको हुँदा पहिलोपटक पुल बनाउने भएका हौँ, अन्य ठाउँमा वर्षौँअघि पुल बनेका थिए, ती पुल साँघुरो र जीर्ण बन्दै गएको हुँदा त्यस स्थानमा दोहोरो गाडी ओहोरदोहोर गर्न सक्ने गरी पुल निर्माण थालिएको हो ।’

पाँचवटै पुल निर्माणको जिम्मा लुम्बिनी/प्राकृतिक जेभीले पाएको छ । डिजाइन गरेर काम सुरु भएको पुलको निर्माण आगामी दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको आयोजना कार्यालयले जनाएको छ । रु. ४४ करोड १५ लाख ३५ हजारमा ती पाँच पुल निर्माण हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *