वाग्मतीमा मेलम्चीको पानी छाड्न मन्त्री यादवको निर्देशन

वाग्मतीमा मेलम्चीको पानी छाड्न मन्त्री यादवको निर्देशन: खानेपानीमन्त्री प्रदीप यादवले  सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट मेलम्चीको पानी वाग्मती नदीमा छाड्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

केन्द्रबाट नदीमा नियमित रूपमा पानी प्रवाह गरेर पवित्र वाग्मती नदी सफा राख्ने कार्यमा लाग्न मन्त्री यादवले आज निर्देशन दिए । उनले भने, “सुन्दरीजलको प्रशोधन केन्द्रको पानी दैनिक रूपमा वाग्मती नदीमा छाड्नु होला, मेलम्चीको पानीले वाग्मती नदी पनि सफा हुनुपर्छ ।”

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले नदी प्रवाहमा सहयोग गर्न केन्द्रको पानी वाग्मतीमा छाडिएको बताए । उनले भने, “आजदेखि हामीले करिब चार करोड लिटर पानी वाग्मतीमा छाडेका छौँ ।”

काठमाडौँ उपत्यकामा जनसङ्ख्याको आधारलाई मध्यनजर राख्दै सकभर दैनिक, नभएको खण्डमा एक दिन बिराएर भए पनि मेलम्चीको शुद्ध पानी वितरण गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई निर्देशन दिए ।

मन्त्री यादवले आजै काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई बाला चतुर्दशीका दिन आराध्यदेव भगवान् पशुपतिनाथस्थित कैलाश क्षेत्रमा लाग्ने मेलामा सहभागी हुने भक्तजनलाई पिउन, स्नानदेखि अन्य कार्य गर्न पुग्नेगरी मेलम्चीको पानीको व्यवस्था मिलाउन भने ।

यस वर्ष पशुपति क्षेत्र विकास कोषले शुक्रबार बाला चतुर्दशी पर्वका अवसरमा कैलाश क्षेत्रमा मेलामा सहभागी हुनेलाई स्नान गर्न पुग्नेगरी पानीको व्यवस्था गराउन काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *