हिमालय एयरले पोखरा–ल्हासा उडान गर्ने

हिमालय एयरले पोखरा–ल्हासा उडान गर्ने: सञ्चालनमा आएको दुई वर्षपछि पर्यटकीय सहर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुने भएको छ ।

नेपाली र चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले पोखराबाट तिब्बतको राजधानी ल्हासामा नियमित उडानको तयारी थालेको हो । हिमालयले १४४ सिट क्षमताको एयरबस ३१९ विमानबाट पोखरा–ल्हासा उडान गर्नेछ ।

डिसेम्बर अन्तिम वा जनवरी पहिलो साता पोखरा–ल्हासा उडान सुरु गर्ने हिमालयको तयारी छ ।

यसैअनुसार हिमालयले पोखराबाट ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) र सिभिल एभिएसन एडमिनिस्ट्रेसन अफ चाइना (सिएएसी)ले अनुमति दिनेबित्तिकै उडान सुरु हिमालयको गृहकार्य छ ।

हिमालयले पोखरा–ल्हासा उडान अनुमतिका लागि तालिका पेस गरेको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । ल्हासा–पोखरा उडानका लागि ल्हासा गोंगर विमानस्थलबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।

हिमालयले सोमबार काठमाडौंबाट ल्हासा उडान गर्ने र पोखरा आएर रात्रि विशान गर्ने, मंगलबार पोखराबाट ल्हासा हुँदै काठमाडौं फर्किने गरी तालिका पेस गरेको छ ।

‘ल्हासाबाट अनुमति पाउनेबित्तिकै प्राधिकरणबाट अनुमति पाइहाल्छ, यताको कुनै समस्या रहेन,’ क्यानका सहप्रवक्ता भुलले भने, ‘ल्हासा उडान सुरु भएपछि पोखरामा अन्तर्राष्ट्रिय उडानको ढोका खुल्नेछ ।’

अहिलेसम्म पोखरा विमानस्थलमा ६ वटा चार्टर्डबाहेक नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुन सकेको छैन । हिमालयले पोखरा–ल्हासा सेक्टरमा सम्भावना देखेरै उडान सुरु गर्न लागेको हो ।

क्यानले पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि नेपाल वायुसेवा निगम र हिमालयलाई पत्राचार नै गरेको थियो । निगमबाट अझै कुनै प्रतिक्रिया नआएको सहप्रवक्ता भुलले बताए ।

क्यानको विन्टर सेड्युलमा हिमालयले काठमाडौं–ल्हासा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान अनुमति पाएको छ ।

तर, यात्रु अभावले ल्हासा उडान नियमित छैन । अब नयाँ उडान तालिका स्वीकृत भएपछि सोमबार र मंगलबार काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं उडान गर्नेछ ।

बुधबार र शुक्रबार काठमाडौं–ल्हासा–काठमाडौं उडानको अनुमति मागेको छ ।

यसअघि एयर चाइनाले पनि ल्हासा–काठमाडौं उडान गथ्र्यो । तर, उसको पनि पछिल्लो समय उडान बन्द छ ।  हिमालय एयरलाइन्ससँग चारवटा जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *