तीन प्रसारणलाइन निर्माण गर्न पुनः ग्लोबल टेन्डर

तीन प्रसारणलाइन निर्माण गर्न पुनः ग्लोबल टेन्डर : लागतभन्दा बढी वित्तीय प्रस्ताव परेका कारण रद्द गरिएको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गत बन्ने २९७ किमि लामो तीन प्रसारणलाइन निर्माणका लागि पुनः ग्लोबल टेन्डर आह्वान गरिएको छ ।

मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले बुधबार ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यु हेटौंडा (लट–१), ९० किमि लामो रातमाटे–न्यु दमौली (लट–२) र ९० किमि लामो न्यु दमौली–न्यु बुटवल (लट–३) प्रसारणलाइन बनाउन ग्लोबल टेन्डर आह्वान गरेको हो ।

१७ माघसम्म बोलपत्र पेस गर्न सकिने एमसिए नेपालले जानकारी दिएको छ ।

नेपाल सरकारको १९ करोड ६७ लाख डलर र एमसिसीको ५० करोड डलर अनुदानबाट ४०० केभी क्षमताका ३१५ किमि लामो चार प्रसारणलाइन र ४०० केभी क्षमताका तीन सबस्टेसन निर्माण गरिँदै छ ।

यसैगरी, पूर्व–पश्चिम राजमार्गको ४० किमि लामो धानखोला–लमही खण्डसहित १३० किमि सडक खण्ड विशेष रूपमा मर्मत गरिँदै छ ।

त्यसमा १८ किमि लामो न्यु बुटवल–नेपाल÷भारत सीमापारसहित ३१५ किमि लामो चार प्रसारणलाइन निर्माणका लागि पहिलोपटक १२ मंसिर ०७९ देखि ७ जेठ ०८० सम्म ग्लोबल टेन्डर आह्वान गरिएको थियो ।

त्यसमा ६ कम्पनीले प्रस्ताव पेस गरेकोमा पाँच कम्पनी प्राविधिक रूपमा उत्तीर्ण भएका थिए । तर, उनीहरूको न्यूनतम वित्तीय प्रस्ताव लागतभन्दा ६६ प्रतिशत महँगो भएकाले टेन्डर रद्द गरिएको थियो ।

चार प्रसारणलाइनको लागत अनुमान २२ करोड ६ लाख डलर थियो ।

तर, टेन्डरमा न्यूनतम वित्तीय प्रस्ताव नै लागत अनुमानको तुलनामा ६६ प्रतिशत बढी अर्थात् ३६ करोड ५९ डलरको परेको थियो ।

त्यसपछि एमसिए नेपालले २६ असोज ०८० मा उक्त टेन्डर रद्द गरेको उक्त टेन्डर १५ महिनापछि पुनः आह्वान गरेको हो ।

१८ किलोमिटर लामो ४०० केभी क्षमताको ‘न्यु बुटवल–नेपाल÷भारत सीमा’ प्रसारणलाइन बनाउन भने १४ भदौमा भारतको ट्रान्सरेल लाइटिङ लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ ।

२१ महिना अवधि रहेको सो ठेक्काको एक करोड २३ लाख ६० हजार डलरमा सम्झौता गरिएको थियो । यो नेपाल–भारत अन्तरदेशीय लाइनको नेपाल खण्ड हो ।

उक्त सीमादेखि भारतको गोरखपुरसम्म खण्डको प्रसारणलाइन भने नेपाल–भारतको संयुक्त लगानीमा यसअघि नै निर्माण सुरु भइसकेको छ ।

अघिल्लो बोलपत्र प्रक्रियाको विस्तृत समीक्षापछि पुनःआह्वान गरिएको नयाँ बोलपत्रमा परिमार्जित डिजाइन छ ।

यसैगरी, टावर निर्माणस्थलमा बोलपत्रदाताको सुझावका आधारमा संशोधित प्रावधान समेटिएको एमसिए नेपालको भनाइ छ ।

एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले टेन्डरमा प्रतिस्पर्धात्मक कम्पनीहरू आउने अपेक्षा गरेको बताए ।

‘निर्माणाधीन प्रसारणलाइनमध्ये १८ किमि खण्डको निर्माणका लागि सम्झौता सम्पन्न भइसकेको वर्तमान अवस्थामा परिमार्जित प्रावधानका कारण बाँकी २९७ किमि प्रसारणलाइन निर्माणका लागि बोलपत्रदाताको अभिरुचि उल्लेख्य रूपमा बढ्ने र प्रतिस्पर्धात्मक बोलपत्र आकर्षित हुने कुरामा हामी विश्वस्त छौँ,’ उनले भने ।

यो बोलपत्र पुनःआह्वान अर्काे उपलब्धि भएको उनले बताए । यद्यपि, प्रसारणलाइनलाई चाहिने जग्गा प्राप्ति भने बाँकी नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *