पाइलटको माग सम्बोधन गर्न सरकार सकारात्मक

पाइलटको माग सम्बोधन गर्न सरकार सकारात्मक: पाइलटहरूको आन्दोलनले प्रभावित भएको नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान सोमबार भने नियमित भएका छन् ।

शनिबार रद्द भएको काठमाडौं–दुबई उडान पनि सोमबार बिहान भएको छ । पाइलटहरूको माग सम्बोधन गर्ने विषयमा सरकार सकारात्मक देखिएको छ ।

सोमबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डेदेखि सचिवसम्मले माग पूरा गराउन यात्रु अलपत्र हुने गरी उडान अवरुद्ध नगराउन चेतावनी दिएका छन् ।

‘नेवानिका कार्यरत पाइलटको सेवा–सुविधा समयसापेक्ष बढाउनुपर्ने रहेछ भन्नेमा अर्थमन्त्री सकारात्मक हुनुभयो, स्वदेशी निजी र विदेशी वायुसेवाका एयरबस विमान उडाउने पाइलटको तुलनामा नेवानिका पाइलटको सेवा–सुविधा कम रहेको उहाँको पनि बुझाइ रह्यो,’ छलफलमा सहभागी एक कर्मचारीले भने, ‘त्यो हुँदैमा सेवा अवरुद्ध गरेर हडतालमा उत्रिने कदम स्वीकार्य नहुने उहाँको भनाइ थियो ।’

सम्मानजनक सेवा–सुविधा दिएर पाइलटको मनोबल बढाउन अर्थ मन्त्रालय सकारात्मक रहेको पर्यटन मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले बताए ।

उनले भने, ‘बैठकले क्याप्टेनलाई तुरुन्त काममा फर्किन आग्रह गरेको छ ।’

करारमा कार्यरत पाइलटको तुलनामा आफूहरूले खाइपाइ आएको सेवा–सुविधा कम रहेको भन्दै निगमका पाइलट केही दिनदेखि हडतालमा छन् ।

वाइडबडी र न्यारोबडीका ४३ पाइलटमध्ये आठ जनाले ६ मंसिरमा बिरामी र अर्जेन्ट काम आइपरेको जानकारी गराई बिदा बसेपछि शनिबारदेखि निगमका उडान प्रभावित भएका छन् ।

सोमबारका उडानहरू नियमित भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *