निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयातको अनुमति

निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयातको अनुमति: पेट्रोलियम पदार्थको कारोबारमा एकाधिकारप्राप्त सरकारी स्वामित्वको आयल निगमको स्वीकृतिमा निजी क्षेत्रलाई प्राकृतिक ग्यास आयात र कारोबारको अनुमति प्रदान गरिएको छ ।

दुई ठुला ग्यास उद्योगी शिवप्रसाद घिमिरे र गोकुल भण्डारीको संयुक्त लगानी रहेको योग्य होल्डिङ्स प्रालिले उद्योग विभागबाट तरल प्राकृतिक ग्यास (एलएनजी)को आयात र बिक्री अनुमति पाएका हुन् ।

भण्डारी सबैभन्दा ठुलो बजार सञ्जाल रहेको ‘नेपाल ग्यास’का सञ्चालक हुन् भने घिमिरे पूर्वमा प्रिमा ग्यासदेखि सुदूरपश्चिममा सैपाल ग्याससहित सातवटा उद्योगका सञ्चालक हुन् ।

दुवै उद्यमीसँग ग्यास उद्योगका क्षेत्रमा लामो अनुभव छ । उनीहरूले सोही अनुभवका आधारमा प्राकृतिक ग्यास कारोबारको अनुमति पाएका हुन् ।

घिमिरे ग्यास उद्योगीको छाता संस्था ‘ग्यास उद्योग संघ’का अध्यक्ष हुन् भने भण्डारी पूर्वअध्यक्ष हुन् ।

उद्योग विभागले गत शुक्रबार प्राकृतिक ग्यास आयातको कारोबार गर्न अनुमति दिएको योग्य होल्डिङ्सले जनाएको छ ।

विभागले आयल निगमको स्वीकृति लिएर मात्र निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्ने लाइसेन्स जारी गरेको हो ।

कम्पनीले कारोबार अनुमति पाएसँगै बाराको सिमरामा उद्योग खोल्ने तयारी थालेको छ । त्यहाँ यसअघि नै खरिद गरेको २० बिघा जमिनमध्ये आठ बिघामा उद्योग खोल्ने तयारी भएको कम्पनीले जनाएको छ ।

उद्योगमा करिब एक अर्ब लगानी हुने जनाइएको छ । योग्य होल्डिङ्सले आयात अनुमति पाएको प्राकृतिक ग्यासको भने मुलुकमा ठुलो कारोबार छैन ।

यद्यपि, योग्य होल्डिङ्सले आयात गर्ने एलएनजीलाई प्रशोधन गरी हाल विभिन्न उद्योगमा प्रयोग भइरहेको ग्यास, डिजेललगायतको सट्टा प्रयोग गर्न मिल्ने गरी उपलब्ध गराउने योजना छ ।

कम्पनीले नवीन प्रविधिका मेसिनरी राखेर ‘सिएनजी’ ग्यास उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *