युक्रेनलाई ब्यालिष्टिक मिसाइल सहयोग गर्दै अमेरिका: अमेरिकी सरकारले युक्रेनलाई आफ्नो लामो दूरीको जेएएसएसएम ब्यालिष्टिक मिसाइल सहयोग गर्ने भएको छ ।
रुसको भित्री भागसम्म हमला गर्न सकियोस् भनेर सो मिसाइल दिन लागिएको समाचारमा जनाइएको छ ।
यो मिसाइलको नाम ज्वाइन्ट एयर टू सरफेस स्ट्यान्डअप मिसाइल हो । योमार्फत रुसको कम्तीमा ३० वटा एयरबेसमाथि निशाना लगाउन सकिने बताइएको छ ।
यो मिसाइल र एफ–१६ फाइटर जेट्सको खतरनाक संयोजन हो । यो मिसाइललाई एफ–१६ फाइटर जेटबाट लञ्च गर्न सकिनेछ । युक्रेनसँग कयौँ थान एफ–१६ फाइटर जेट छ ।
यो मिसाइलबाट युक्रेनले रुसमाथि हमला गर्यो भने जवाफी कारबाही पनि तगडै हुनेछ । युक्रेनले एफ–१६ फाइटर जेटबाट ३७० दशमलव ४ किमी दूरीबाट मिसाइल हान्न सक्नेछ ।
आवश्यकता पर्यो भने यो मिसाइलको रेन्जलाई ९०० किमीसम्म पुर्याउन सकिन्छ ।
यो मिसाइल अमेरिकाको रक्षा उपकरण बनाउने कम्पनी लकहिड मार्टिनले बनाएको हो ।
कम्पनीले अहिलेसम्म ७ हजार ५०० वटा जेएएसएसएम ब्यालिष्टिक मिसाइल बनाइसकेको छ ।
यसको प्रयोग अमेरिकी वायु सेनाको साथसाथै अस्ट्रेलिया, पोल्यान्ड र फिनल्यान्डको हवाई बलले गरिरहेको छ ।
यो मिसाइल पहिलो पटक सिरियामा अमेरिकी हमलाको समयमा प्रयोग भएको थियो ।