गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउन जरुरी: लुम्बिनी क्षेत्रको पर्यटन बढाउन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दीर्घकालिक सञ्चालन योजना बनाउनु आवश्यक रहेको बताइएको छ।
नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको १५ औं वार्षिक साधारणसभा तथा अधिवेशनमा विमानस्थलको सञ्चालनका लागि पर्यटन व्यवसायीहरूले ऐक्यबद्धता जनाएका छन्।
लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले राजनीतिक अस्थिरताले मुलुकका सबै क्षेत्रमा असर पुर्याएको र त्यसैले विकास योजना प्रभावित भएको बताए। उनले भने, “वर्तमान सरकारको इच्छाशक्ति कारण गौतमबुद्ध विमानस्थल सञ्चालनको अवस्था तयार भएको हो।”
गौतमबुद्ध विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यात्रु सुरक्षा प्राथमिकता राखेर नयाँ सुविधाका प्याकेजहरू तयार गर्नुपर्ने बताए। उनले विमानस्थलको सुरक्षा लागि ‘आइएलएस लोयर भिजिविलिटी’ परीक्षण गर्न एयरलाइन्सलाई अनुरोध गरेको जानकारी दिए।
नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूले गौतमबुद्ध विमानस्थलको सञ्चालनमा सहयोग गर्ने बताए। उनले यस विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरू भएमा लुम्बिनी प्रदेश र देशलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे।
सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले भैरहवा विमानस्थल सुदूरपश्चिम र कर्णालीका लागि सबैभन्दा सुविधाजनक हुने बताए। नाट्टा लुम्बिनी प्रदेशका अध्यक्ष रचना पन्तले भने, “वर्तमान विमानस्थल सञ्चालनले नयाँ आशा दिएको छ, र यसलाई सकारात्मक ढंगले अगाडि बढाउनुपर्छ।”
कार्यक्रममा पर्यटन क्षेत्रमा योगदान पुर्याएका पत्रकार भरत केसीलाई सम्मान पनि गरियो।
Visit homepage : eautonepal.com