हवाई भाडा वृद्धिले बालकाेटलाई छोएन: आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको गैरजिम्मेवार भूमिकाका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको आरोप लगाएका छन्।
सरकारले कमिसन खानका लागि हवाई भाडामा मनपरी वृद्धि गरेको गम्भीर आरोप लगाउँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा जे पनि गर्ने छुटले अराजकता एवं अन्योलता बढ्दै छ। सरकारको गैरजिम्मेवार भूमिकाले सिंगै पर्यटन क्षेत्र अस्तव्यस्त भइरहेको सन्दर्भमा हवाई भाडामा भएको मनपरी वृद्धिले अर्थतन्त्रमा ठुलो नकारात्मक असर पर्ने पक्का छ।’
अन्तर्राष्ट्रिय उडानको हवाई भाडामा भएको वृद्धि नियन्त्रण गर्नुको सट्टा सरकारले उल्टै जनतालाई भ्रमित गरिरहेको साहको आरोप छ।
‘अहिले पर्यटन क्षेत्र मरणासन्न अवस्थामा छ भन्दा अत्युक्ति नहोला। राज्य नियन्त्रित सिन्डिकेट र सरकारमा भएकाहरूकै हालिमुहाली र ब्रह्मलुटकै कारण यो क्षेत्रले विगत लामो समयदेखि बदनामी र बेथिति भोग्नुपरेको छ।
अहिले हवाई भाडादर दोब्बर–तेब्बर बनाइएका समाचार छन्। नेपाली श्रमिकहरू हवाई भाडादरमा भएको मनोमानी वृद्धिको कारण ठुलो मारमा परेका छन्।
तर, यो सरकारलाई यसबारेमा कुनै चिन्ता र चासो नै छैन।’
त्रिभुवन इन्टरनेसनल एयरपोर्टको स्तरोन्नतिको लागि दैनिक १० घण्टा एयरपोर्ट बन्द गर्ने बहानामा हवाई भाडा बढाएर नेपाली श्रमिक र विदेशी पर्यटक लुट्ने काम भएको उनको आरोप छ।
‘अहिले पनि हवाई भाडादर वृद्धिले बालुवाटार, बालकोट र बुढानीलकण्ठलाई छोएको छैन। नेताजीहरूका ती दरबारमा हाइसञ्चो छ।
सरकार टिकाउने नाममा उच्चस्तरीय राजनीतिक संयन्त्रको प्रहसन जारी छ।
तर, कांग्रेस र एमालेलाई यो हवाई भाडामा भएको ज्यादती र मूल्यवृद्धिको आतंकले छोएको छैन र छुँदैन पनि होला।
उहाँहरूको आत्मामा व्यापारीले डेरा जमाएका छन्। जनताको सास्तीलाई बेवास्ता गरिएको छ।’
Visit homepage : eautonepal.com