त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने: राजधानी काठमाडौंमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुने गरी ट्याक्सी वे बनाउनुपर्ने भएकाले त्यस प्रयोजनका लागि विमानस्थल बन्द गरिने जनाइएको छ ।

विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।

गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला मनसुन पनि हुने भएकाले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सुरू गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएको महानिर्देशक अधिकारीको भनाइ छ ।

उनले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताए ।

हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम अघि बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।

समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिलेजस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक अधिकारीले स्पष्ट पारे ।

ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्य क्षमता २५ प्रतिशतले बढेर जाने महानिर्देशक अधिकारीले बताए ।

प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *