पुनर्निर्माणमा कम्तीमा डेढ खर्ब चाहिने

पुनर्निर्माणमा कम्तीमा डेढ खर्ब चाहिने: राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प र बाढीपहिरोको क्षतिको विस्तृत मूल्यांकन गर्न अर्थ मन्त्रालयसँग ३० करोड माग गरेको छ ।

गत असोजको बाढीपहिरो तथा ०७९ र ८० मा जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पबाट भएको क्षतिको विस्तृत मूल्यांकन एवं पुनर्निर्माणमा लाग्ने बजेटबारे आकलन गर्न प्राधिकरणले बजेट माग गरेको हो ।

‘अर्थ मन्त्रालयले बजेट निकासा गरेपछि हामी तीन महिनाभित्र क्षतिको विस्तृत मूल्यांकन र पुनर्निर्माणमा लाग्ने बजेटबारे निक्र्योल गर्न सक्छौँ,’ प्राधिकरणका सहसचिव वसन्त अधिकारीले भने, ‘यो कामका लागि विषयगत मन्त्रालयबाट काजमा कर्मचारी ल्याइनेछ ।

आवश्यकताअनुसार करारमा पनि जनशक्ति लिन सकिनेछ ।’

भूकम्पपछिको पुनर्निर्माणमा कम्तीमा ७३ अर्ब र बाढीपहिरो (यसपालिकाको बर्खा)पछिको पुनर्निर्माणमा एक खर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिए पनि घरघरमा प्राविधिक खटाई प्राविधिक जाँच र मूल्यांकनपछि मात्र यकिन गर्न सकिने सहसचिव अधिकारीले बताए ।

१७ जिल्लामा भूकम्पपछिको पुनर्निर्माण गर्नुपर्नेछ, प्रारम्भिक आँकडाअनुसार ९५ हजार सात सय ८७ घर पुनर्निर्माण गर्नुपर्नेछ भने सार्वजनिक तथा सरकारी भवन, संरचना पनि पुनर्निर्माण गर्न बाँकी छ ।

गत असोज १०–१२ को बाढीपहिरोमा मात्र २१ जिल्लाका ७१ पालिकामा १० हजार घर पुनर्निर्माण गर्नुपर्ने देखिएको छ ।

त्यसबाहेक यसपालिकै बर्खामा सोलुखुम्बुको थामे, रामेछापको दोरम्बा, कञ्चनपुरको दोधारा चाँदनीलगायत क्षेत्रमा पनि पुनर्निर्माण गर्नुपर्नेछ ।

‘विपत् संकटग्रस्त घोषणा भएबाहेक १२–१५ पालिकामा क्षति पुगेको छ, त्यहाँ पनि पुनर्निर्माण गर्नुपर्नेछ,’ सहसचिव अधिकारीले भने, ‘यसरी हेर्दा बाढीपहिरोको पुनर्निर्माणमा मात्र एक खर्बभन्दा बढी बजेट चाहिने देखिन्छ ।’

Visit homepage : eautonepal.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *