रुख भएको ठाउँ छाडेर कालोपत्रे: दसैँ मनाउन गृहजिल्ला झापा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले २३ असोजमा मदन भण्डारी राजमार्गको अनुगमनका क्रममा नयाँ पत्रिकाको प्रश्नमा आनाकानी गर्दै जवाफ दिए, ‘सडकमा पर्ने रुख हट्छ, बाटो बन्छ ।’
तर, मदन भण्डारी राजमार्गमा पर्ने रुख नहटेकै कारण ठेक्काको म्याद सकिँदा पनि सडक बन्न सकेको छैन ।
सरकारी निकायबिचकै समन्वय अभावले मदन भण्डारी राजमार्गमा पर्ने करिब १३ हजार रुख नहट्दा निर्माणको काम समयमा सकिएको छैन ।
विभिन्न सातवटा प्याकेजमा लगाइएको ठेक्काको म्याद सकिँदा पनि रुख हटाउन सरकारले चासो दिएको छैन ।
सरकारी बेवास्तापछि सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनीले रुख हटाउनका लागि थोरै खाली ठाउँ छाडेर सडक कालोपत्रे गर्न सुरु गरेको छ ।
मदन भण्डारी राजमार्गको पहिलो खण्ड सर्दु–भलुवा खोलाको २४.८ किलोमिटर सडक, दोस्रो खण्ड भलुवा–बेलडाँगीको २८ किलोमिटर सडक र मेचीडाँगी–शान्तिपुरको दश किलोमिटर सडक रुखकै कारण समयमा सकिएका छैनन् ।
ठेक्काको म्याद सकिएपछि पनि रुख नहटाएपछि निर्माण कम्पनीले रुखका लागि केही मिटर खाली ठाउँ छाडेर कालोपत्रे गर्न सुरु गरेको छ ।
‘हामी सडकको म्यादभित्रै काम सक्थ्यौँ, तर रुखकै कारण सकेनौँ । अहिलेसम्म पर्खिएको हो ।
रुख नहटाएपछि रुखका लागि बिचमा २० मिटर छाडेर कालोपत्रे सुरु गरेका छौँ,’ सडकको तीन प्याकेजको ठेक्का पाएको श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर प्रह्लाद ढुंगानाले भने, ‘हामीलाई राज्यकै कारण घाटा लाग्यो ।
अब त्यो २० मिटरमा कालोपत्रे गर्न त्यति नै उपकरण लैजानुपर्छ । डबल खर्च हुन्छ ।’
श्रेष्ठ–मोतीदान जेभीका इन्जिनियर ढुंगानाका अनुसार केही ठाउँमा रुखै कारण २० मिटर ठाउँ छाडिएको छ ।
कतै सात किलोमिटरसम्म ठाउँ छाडेर कालोपत्रे गरिएको उनले बताए । ‘रुखकै कारण कल्भर्टसमेत बनाउन पाएका छैनौँ । अहिले नदीजन्य सामग्रीको स्टक प्रमाणित नहुँदा काम रोकिएको छ ।
स्टक प्रमाणित नभएसम्म पर्खिने हो,’ उनले भने, ‘त्यसवेलासम्म पनि नभए हामी यसरी नै रुख छाड्दै कालोपत्रे गर्छौँ ।
समयमा काम नसकिँदा हाम्रो खर्च बढिरहेको छ ।’ यी तीनवटै सडकको ठेक्काको म्याद गत वर्ष नै सकिएको छ । पहिलोपटक थपिएको म्याद पनि आउँदो पुस मसान्तमै सकिँदै छ ।
मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकका सूचना अधिकारी इन्जिनियर सुवास दत्तका अनुसार ठेक्का लागेको ९५.८ किलोमिटर सडकमध्ये सातवटा प्याकेजमा रुखकै कारण करिब २४ किलोमिटर सडक मात्र कालोपत्रे भएको छ ।
उनका अनुसार सात प्याकेजमा १३ हजारहाराहारी रुख कटान गर्नुपर्नेछ । ‘सुनसरी र मोरङ खण्डमा पर्ने रुख हटाउने प्रक्रिया अहिले मन्त्रालयमा पुगेको छ ।
अब मन्त्रालयले मन्त्रिपरिषद्मा लगेपछि रुख काट्ने निर्णय हुन्छ । झापा र इलाम खण्डको फाइल वन विभागमा छ ।
विभाग हुँदै मन्त्रालयबाट मन्त्रिपरिषद्मा जान्छ,’ उनले भने, ‘दसैँअघि भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल आएर अनुगमन गर्नु भएको छ ।
उहाँले वनको समस्यालाई नै प्राथमिकतामा राखेको बताउनुभएको थियो । समन्वय गरेर चाँडै मन्त्रिपरिषद्बाट निर्णय गर्ने भन्नुभएको छ । यसले केही आशा जगाएको छ ।’
Visit homepage : www.eautonepal.com