नवलपुरको बालुवाडाँडामा जिप दुर्घटना: नवलपुरको कावासोती- १, बालुवाडाँडामा बलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
शनिबार बिहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा परी एकजनाको मृत्यु भएको र दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए।
घाइतेहरूलाई उद्धार गरेर अस्पताल पुर्याइएको ढकालले जानकारी दिए। मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
२५ जना घाइतेहरूमध्ये ११ जनाको कावासोतीको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकीलाई उपचारका लागि चितवनतर्फ पठाइएको ढकालले जानकारी दिए।
घटनास्थलमा प्रहरी, नेपाली सेना र स्थानीयले घाइतेहरूहरुको उद्धार गरेका थिए। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
Visit homepage : www.eautonepal.com