महाभारत र खानीखोला गाउँपालिका क्षेत्रमा अविरल वर्षाका कारण बाढीपहिरो गएर सडक, विद्युत र सञ्चार सम्पर्क विहीन भएको क्षेत्रमा सडक सञ्जाल खुलाउन हेलिकोप्टरबाट डिजेल ढुवानी गरिएको छ ।
दशैंको बेलामा आम नागरिकलाई सहज सेवा प्रदान गर्नका लागि अवरुद्ध सडक खुलाएर यातायात सञ्चालन गरी सेवा प्रदान गर्न हवाई मार्गबाट इन्धन ढुवानी गरेको हो।

धुलिखेलदेखि खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा नेपाली सेनाको हेलिकप्टरमार्फत दुई हजार लिटर डिजेल ल्याइएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए ।
बाढी पहिरोको कारण केन्द्र जोड्न कुनै पनि सडक नभएको तत्काल चल्ने बनाउनको लागि डिजेल आवश्यक रहेकोले सेनाको हेलिमार्फत ल्याइएको अध्यक्ष थिङले बताए।
पनौती बनेपा जोड्ने मुख्य सडक खोपासी–कामीडाँडा–स्याउरीथली–तालढुंगा र तालढुंगा सुकुमफेदी बाटोलाई पनि खुलाउने काम भइरहेको अध्यक्ष थिङले बताए ।
त्यसैगरी जिल्लाको महाभारत गाउँपालिकाको केन्द्र देवीटारलाई जिल्ला सदरमुकामसंग टुटेको सडक सञ्जाल जोड्नको लागि हेलिकप्टरमार्फत डिजेल ढुवानी गरी काम भइरहेको छ ।
