अरनिको सडक अवरुद्ध, तातोपानी नाका बन्द

पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । दर्जनौँ ठाउँमा पहिरो गएकाले सडक सञ्चालन गर्न केही दिन लाग्न सक्छ ।

बन्देउदेखि नै पहिरो खसेकाले सडक बन्द छ । सवारीसाधन सडकमा अलपत्र छोडेर मानिस सुरक्षित ठाउँमा गएको सिन्धुपाल्चोक जिल्ला प्रहरीले जनाएको छ ।

चीन जोड्ने कोदारी राजमार्गको लिपिङ पुल बगाएको छ । लार्चास्थित बेलिब्रिज भोटेकोशी नदीले बगाएको तातोपानी भन्सारका सूचना अधिकृत सूर्यप्रसाद काफ्लेले जानकारी दिए ।

भोटेकोशी वडा नं ३ र ४ जोड्ने यो बेलिब्रिज बगाएकाले तातोपानी नाका पूर्ण रूपमा बन्द भएको हो । गाउँ पुग्ने सबै सडक पहिरोले बन्द भएका छन् । नदी तटीय क्षेत्रका मानिस घर छोडेर सुरक्षित स्थानतर्फ भागेका छन् ।

तातोपानी, बाह्रबिसे, खाडीचौर, मेलम्ची, जलबिरे, तिपेनी र बन्देउ क्षेत्रका स्थानीय तीन दिनदेखि त्रसित छन् । वर्षाले सबै बस्तीमा वितण्डा मच्चाएको छ ।

वर्षा कम भए पनि सडकबाट आवतजावत गर्न नसकेकाले मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको प्रहरी स्रोतले जनाएको छ  सुनकोशी, भोटेकोशी, ब्रह्मायणी र इन्द्रावती नदीले खतराको तह पार गरेकाले तटीय क्षेत्रमा ठुलो भौतिक क्षति भएको स्थानीय बताउँछन् ।

अरनिको राजमार्ग, मेलम्ची हेलम्बु, जलबिरे, नवलपुर जाने सहायक मार्गमा पहिरोले सडक अवरुद्ध भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *