सुपरमोटो बाइक रेसिङमा सुरज घिमिरे पहिलो

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपालले आयोजना गरेको प्रथम गभर्नर्स कप सुपरमोटो बाइक रेसिङ प्रतियोगिता सम्पन्न भएको छ ।

डिष्ट्रिक्ट स्पोर्टस् चिफ लायन अनिल कुमार बरालले यो प्रतियोगिता लायन्सको आयोजनामा नेपालमै पहिलोपटक र ऐतिहासिक रुपमा सम्पन्न भएको दाबी गरे । उनी नेपाल अटोमोबाइल एसोसिएसनका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

७२० मिटर ट्रयाकमा भएको प्रतियोगितामा देशभरबाट १६ जना राइडरले भाग लिएका थिए । प्रतियोगिताको फाइनलमा ९ जना पुगेका थिए । त्यसमध्येमा पनि काठमाडौंका सुरज घिमिरेले पहिलो स्थान हासिल गरे ।

काभ्रेका आशुतोष डान्जू दोस्रो र भक्तपुरका दिलीप दनवार तृतीय भए ।

त्यस्तै नेभिसमा बिबेक पाण्डे पहिलो, दिपेश बलामी दोस्रो र रुमु ह्याङ राई तेस्रो भए ।

नेशनल क्याटोगरीमा श्रीहरी पौडेल प्रथम, रितेश खत्री द्धितिय र दिलिप दनुवार तृतिय भए । सबैमा गरी कुल ५० राइडरले भाग लिएका थिए ।

पहिलो हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विजयीलाई लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५  जे नेपालका डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापा र पिडिजी तथा मल्टिपल कन्भेन्सन चियरपर्सन लायन ध्रुब धापा लगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले खेल गतिविधि बढ्दै गएमा पोखरालाई खेल पर्यटनको राजधानीको रुपमा अघि बढाउन सहयोग पुग्ने बताए ।

उनले खेलकुद मनोरञ्जनका लागि मात्रै नभई स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

डिस्ट्रिक्ट ३२५ जे का गभर्नर लायन मिलन थापाले लायन्सले पहिलो पटक यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना गरी खेलकुद क्षेत्रमा जोडिन पाउँदा खुसी लागेको बताइन् ।

रोड रेसिङ च्याम्पियनसिप अन्तर्गत यस अघि दुई वटा सिरिज सम्पन्न भइसकेका छन् , पोखरामा भएको यो तेस्रो सिरिज हो ।

प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्षको जिम्मेवारी मोटर स्पोर्टस् नेपाल क्लबले लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *