बुटवलको सडक सात वर्षदेखि अलपत्र

करिब सात वर्षदेखि अलपत्र बुटवलको तीन किलोमिटर सडक विस्तारका लागि नयाँ ठेक्का लगाउने तयारी गरिएको छ ।

बुटवलको चौराहदेखि गोलपार्कसम्मको ३.२५ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न नयाँ ठेक्का लगाउने तयारी थालिएको हो ।

बुटवलको मुख्य सडक विस्तारका लागि सात वर्षअघि नै कञ्चनजंघा बिरुवा जेभी काठमाडौंले भ्याट तथा भेरिएसनसहित ५३ करोड ९७ लाख ९९ हजार चार सय ६७ रुपैयाँमा ठेक्का पाएको थियो ।

कम्पनीसँग ०७६ सम्ममा सडक विस्तार सक्ने गरी १७ चैत ०७३ मा ठेक्का सम्झौता भएको थियो ।

तर, पटक–पटक म्याद थप्दासमेत सात वर्षसम्म विस्तार सम्पन्न नभएपछि गत वैशाखमा डिभिजन सडक कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको छ ।

निर्माण कम्पनीले काम अलपत्र पार्नुका साथै दिएको निर्देशनसमेत बेवास्ता गरेपछि ठेक्का नै रद्द गरेर नयाँ टेन्डरको तयारी गरिएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी इन्जिनियर महेश्वर लम्सालले बताए ।

कार्यालयका अनुसार १२ असोज ०७६ मा निर्माण सम्पन्न गर्ने गरी सो सम्झौता भएको थियो ।

ठेक्का सम्झौताका वेला सडक कार्यालयमा पेस गरेको निर्माण कार्यतालिकाअनुसार काम नभएपछि वर्षौँ बित्दा पनि कामले गति लिन सकेन ।

निर्माणाधीन साइटमा अवरोधदेखि कोभिड महामारीको प्रभावसमेत परेपछि पटक–पटक गरेर म्याद थप गरिएको थियो ।

‘पटक–पटक म्याद थप गर्दा पछिल्लोपटक ३१ असार ०८० मा काम सम्पन्न गर्नुपर्ने थियो, तर काम नै अलपत्र पार्ने काम भएपछि ठेक्का नै रद्द गरिएको छ,’ उनले भने, ‘हालसम्म आर्थिक प्रगति ५० दशमलव ७७ प्रतिशत तथा भौतिक प्रगति जम्मा ५४ प्रतिशत रहेको छ ।’

नयाँ ठेक्काका लागि ५० करोड लागत मूल्यांकन
समयमै काम नभएपछि अलपत्र बनेको सडक विस्तारको काम नयाँ टेन्डरबाट अघि बढाउने गृहकार्य भएको छ ।

नयाँ ठेककाको स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा फाइल पुर्‍याइसकिएको इन्जिनियर लम्सालले बताए । स्रोत सहमति हुँदासाथ ठेक्काको कामले गति लिने उनले बताए ।

‘करिब ५० करोडको इस्टिमेट गरी सहमतिका लागि अर्थमा पठाइएको छ,’ उनले भने, ‘अर्थबाट सहमति आउनासाथ नयाँ ठेक्का प्रक्रिया अघि बढ्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *