वीरगन्ज एकीकृत जाँचचौकी (आइसिपी), वीरगन्ज सुक्खा बन्दरगाह र रसुवागढी भन्सारमा अझै एक हजार ३२ गाडी अलपत्र छन् ।
आइसिपीमा पाँच सय २७, भैरहवा भन्सारमा तीन सय ५०, वीरगन्ज बन्दरगाहमा ९० र रसुवागढी नाकामा ६५ गाडी रहेका छन् ।
वीरगन्ज आइसिपीमा तीन सय एक कार र दुई सय २६ चेसिस, रसुवगढीमा सन् २०२२ र २०२३ मा ल्याइएका सातवटा पेट्रोल कार, ५६ पिकअप र एक माइक्रो गरी ६५ गाडी रहेको कार्यालयले जनाएको छ । तर, विद्युतीय गाडी भने धमाधम जाँचपास भइरहेको भन्सार कार्यालयले जनाएको छ ।
सन् २०२१ देखिका गाडीहरू यार्डमा पार्किङ गरेर राखिएको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले बताए ।
अहिले वीरगन्ज आइसिपीमा तीन करोडभन्दा पनि बढी कर तिर्ने कार पार्किङमा छन् । वीरगन्ज आइसिपीमा टोयोटाका हाइब्रिड ¥याभफोर, ल्यान्डक्रुजर, फर्चुनर, हायलक्स, हुन्डाईका टुसान, क्रेटा, भेन्युलगायत गाडी छन् ।
आइसिपीको यार्डमा थन्किएको टोयोटा ल्यान्डक्रुजर जेडएक्स सबैभन्दा महंगो गाडी हो, जसको शो–रुम मूल्य पाँच करोड १६ लाख छ ।
यस्तै, ल्यान्डक्रुजर प्राडोको मूल्य दुई करोड ८३ लाखलेखि तीन करोड ३४ लाखसम्म छ ।
टोयोटाका हाइब्रिड ¥याभफोर, हाइलक्स, फर्चुनर, रसलगायत गाडी महँगो मूल्यका हुन् ।
आइसिपीमा फोर्सका गुर्खा जिप, बस, पिकअप, आशोक लेल्यान्डको पिकअप, चेसिस, एमजी हेक्टर (हाइब्रिड) र बस तथा ट्रकका चेसिसहरू पार्किङमा राखिएका छन् ।
वीरगन्ज सुक्खा बन्दरगाहमा बिएमडब्लू, किया, फोर्ड, मर्सिडिज, सुवारु, माज्दाजस्ता महँगा गाडी धेरै देखिन्छन् ।
महँगो मूल्य पर्ने बिएमडब्लू, मर्सिडिज, फोर्डको रेन्जर, सुवारु, माज्दाजस्ता कारहरूबाट ठूलो रकम कर उठ्ने गर्छ ।
यस्तै, बन्दरगाहमा विलिङ, ग्लोरी–५६० गाडी पनि धेरै छन् । रसुवागढीमा डिजेलबाट चल्ने पिकअप गाडी जाँचपास नगरी थन्किएको रसुवागढी भन्सार कार्यालयका भन्सार अधिकृत नवराज चौलागाईंले जानकारी दिए ।
वीरगन्ज भन्सारका प्रमुख डिलाराम पन्थी भन्छन्– मन्दीले गाडी बिक्री नभएपछि व्यवसायीले यार्डमा असरल्ल छाडेका थिए ।
हामीले गाडी जाँचपास गरेर लैजान ताकेता गरेपछि बस, ट्रक, टिपर, पिकअप र चेसिसहरू जाँचपास भइसकेका छन् । अझै पनि महँगो मूल्यका कार यार्डमै छन् ।
नाडाका अध्यक्ष करण चौधरी भन्छन्– अहिले विद्युतीय गाडीको बिक्री राम्रै भइरहेको छ ।
तर, पेट्रोल–डिजेलबाट चल्ने प्यासेन्जर कारको ७० प्रतिशत र कमर्सियल भेहिकलको ८० प्रतिशतभन्दा धेरै व्यापार डाउन छ ।
अटोमोबाइल क्षेत्रमा मन्दीको प्रभाव कत्ति पनि कम भएको छैन ।