निर्माणको अन्तिम चरणमा पुगेको पुलको पायाँ बाढीले भासिएको करिब डेढ वर्षपछि कमला पुलको पुन र्निर्माणको भइरहेको छ ।
पुल भासिएपछि उच्चस्तरीय राजनीतिक नेतृत्व, विभागीय मन्त्रीहरूले पुनर्निर्माणको काम छिटो सक्न निर्देशन दिँदै आएका छन् ।
तर, धनुषातर्फ भासिएको तेस्रो पायाँको विषयमा सडक विभागको पुल महाशाखाले निर्णय नगर्दा पुन र्निर्माणमा ढिलाइ भएको छ ।
१८ चैतमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले हुलाकी सडकखण्ड अन्तर्गत सिराहा र धनुषा जोड्ने कमला पुलको पुनर्निर्माण समयमै सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए ।
कमला पुलको पूर्वतर्फ भइरहेको पुनर्निर्माणको स्थलगत निरीक्षण गर्दै उनले सरकारले आवश्यक स्रोत–साधनको व्यवस्था गरेको बताए ।
समयमै निर्माण सम्पन्न नभए निर्माण कम्पनी कारबाहीको भागीदार हुने चेतावनी समेत दिए ।
पुल भासिएपछि वर्षाको समयमा निजी रूपले सञ्चालन गरिएका डुंगा र हिउँदमा स्थानीयले बनाएको बाँसको पुलमा जोखिमपूर्ण यात्रा गर्नु बाध्य रहेको स्थानीय बासिन्दाले बताए ।
सिरहा नगरपालिका–६ बसबिट्टाका विन्देश्वर यादव भन्छन्, ‘बाँसकै पुल भए पनि तत्काल राहत भएको छ ।’
पुलको दक्षिणपट्टि बाँसको खम्बामा मोटो प्लाई हालेर बनाइएको दुईवटा पुल पनि जीर्ण भएपछि त्यसको बीच भागमा फेरि त्यस्तो पुल बनाएपछि आवत-जावत गरिएको यादवले बताए ।
उनका अनुसार पैदल र साइकलयात्रीलाई निःशुल्क तथा मोटरसाइकललाई ५० रुपैयाँ शुल्क लिने गरिएको छ ।