नौ वर्षमा पुल नबन्दा स्थानीयहरूको ज्यान जोखिममा

लामो समय पछि निर्माण हुन लागेको गौर औरैया सडक खण्डअन्तर्गत पर्ने लालबकैया नदीको पुलको निर्माण कार्य रोकिएको छ ।

अधुरो रहेको पुलको निर्माण कार्य सम्पन्न गर्नका लागि ठेक्का सकार गरेका निर्माण कम्पनीले सूचना टाँसेर पुल निर्माणको कार्य स्थगित गरेको हो ।

२०७१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेको गौर औरैया टिकुलिया घाटको पुल नौ वर्ष बित्न लाग्दा पनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।

२३ करोड ५१ लाख ३७ हजार ८ सय ३० रुपैयाँ अनुमानित लागतमा निर्माण हुने पुलको निर्माण गर्न १६ करोड ८६ लाख ९ हजार ६ सय ८० मा सकार गरेका पप्पू कन्स्ट्रकसन प्रालि पर्साले निर्धारित समय २०७४ असार २५ मा निर्माण गर्न नसक्दा पुल अलपत्र अवस्थामा नै रहेको छ ।

पुल निर्माणको कार्य गर्न पटकपटक ताकेदा गर्दा पनि निर्माण कम्पनीले चासो नदेखाउँदा २०७९ सालमा सडक डिभिजन कार्यालय रौतहटले ठेक्का तोडेर अर्को ठेक्का बन्दोबस्त गरेकोमा पुल निर्माणको लागि ठेक्का सकार गरेका अर्को निर्माण कम्पनी आजाद दिपु जेभी कम्पनीले काम रोकेको छ ।

२०८१ चैत १ सम्म निर्माण कार्य सम्पन्न गर्ने भनी ठेक्का सकार गरेका कम्पनीले पुलको शीर्षकमा बजेटको व्यवस्था नभएकोले काम रोकिएको सूचना निर्माणस्थलमा टाँस गरेर काम स्थगित गरेको छ ।

नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट निजगढ, पतौरा, बंकुल, गौर सडकसँगै अवस्थित रहेको लालबकैया जग र उपसंरचना निर्माणको लागि करसहित २७ करोड ६६ लाख ८ हजार १ सय ७६ रुपैयाँ ८८ पैसामा निर्माण कम्पनीले ठेक्का सकार गरेको छ ।

पुल निर्माण नहुँदा स्थानीयहरूलाई नदी वारपार गर्न डुंगाको सहारा लिनुपर्ने बाध्यता रहेको छ ।

बाढीको समयमा गौरदेखि औरैया अवागमन गर्दा ज्यान जोखिममा राख्नुपरेको स्थानीयहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *