अहिले विश्वबजारमा विद्युतीय सवारीसाधनको प्रयोग बढिरहेको छ । यसका लागि बेटी, मोटर, कन्टोलर, चार्जर लगायतका महत्वपुर्ण कम्पोनेन्टहरुको प्रविधिमा निक्कै विकास भएको पाइन्छ ।
यसै बीचमा अहिले विद्युतीय स्कुटरमा प्रयोग भएको लिक्वीड कुल्ड मोटरको बारेमा चर्चा गरौं ।
प्रायः विद्युतीय स्कुटरले उकालोमा तान्दैन कि भन्ने शंका पनि गरिन्छ । अथवा लामो दुरीसम्म चलाउन सकिन्न कि भन्ने गरिन्छ । यसको मुख्य कारण भनेको मोटरको क्षमता हो ।
विद्युतीय स्कुटरमा मोटरको क्षमता बढाउनका लागि मोटर तातिनबाट जोगाउनुपर्ने हुन्छ ।
उकालो बाटोमा चलाउँदा, धेरै वजन भएका व्यक्तिहरु बस्दा वा लामो दुरीको लगातारको यात्रा गर्दा स्कुटरको मोटर तातिन जान्छ । जसरी यस्तो अवस्था भएमा पेटोलबाट चल्ने स्कुटर वा मोटरसाइकलको पनि इन्जिन तातिने गर्दछ ।
यसका लागि हावाबाट मात्र चिस्याएर सम्भव नहुने हुँदा लिक्विड मार्फत मोटर चिस्याउने प्रविधिको विकास भएको देखिन्छ ।
सामान्य हब मोटरलाई हावाले चिस्याउने काम गर्छ भने लिक्विड कुल्ड मोटरलाई हावा सँगसँगै लिक्विडले पनि चिस्याउने हुनाले यस्ता मोटरको तान्ने क्षमता बढी हुनुको साथसाथै मोटरको आयु पनि धेरै हुन्छ ।
करिब १ सय एमएल जति लिक्विड वा भनौं कुलिन आयल हाल्ने व्यवस्था त्यस्ता मोटरमा मिलाइएको हुन्छ । त्यस्तो कुलिन आयल सधैं फेरिरहन भने पर्दैन ।
नेपालमा बिक्रि भइरहेका विद्युतीय स्कुटरहरु मध्ये हामीलाई जानकारी भएअनुसार लुयान (Luyuan) तथा इकोबिट (Ecobit) ब्राण्डको स्कुटरमा लिक्विड कुल्ड मोटरको प्रयोग भएको छ ।
प्रविधिमा भइरहेको विकास सँगसँगै अन्य ब्राण्डका स्कुटरमा पनि अब लिक्विड कुल्ड मोटर आउने आशा गर्न सक्दछौं ।