नयाँ दिल्ली । चालक सवार नरहेको एउटा रेल ८४ किमी गुडेको छ । यो घटना भारतको हो ।
गत साता आइतबार बिहान एउटा मालवाहक रेल जम्मुबाट पन्जाब जाँदै थियो । चिया खानका लागि भनेर काथुवा स्टेशनमा चालक रेलबाट ओर्लिए ।
तर चालक दलले रेलमा ब्रेक लगाउन बिर्से । स्टेशन भिरालो ठाउँमा थियो । त्यसपछि ५३ ओटा डब्बा भएको सो रेल सर्रर गुड्दै गइरह्यो ।
रेल आफैँ गुडेको थाहा पाउने बित्तिकै जम्मु रेल्वे स्टेशनका निर्देशक र डिभिजन ट्राफिक म्यानेजर दौडिएर काथुवा स्टेशन तिर लागे ।
सारा कर्मचारीहरूलाई परिचालन गरियो । चालक बिनाको रेल गुडेपछि बाटोमा पर्ने सबै स्टेशनहरुलाई अलर्ट गराएर उक्त रेलका लागि बाटो खुला गराइएको थियो ।
कयौँ स्टेशनहरु रेललाई रोक्ने प्रयास पनि गरिएको थियो । तर प्रयास असफल भयो ।
रेलले ढुंगा बोकेको थियो । बिहान ७ बजेर २५ मिनेटमा गुड्न थालेको रेल ९ बजेमात्रै रोक्न सकियो ।
करिब ८४ किलोमिटर गुडिसकेपछि पन्जाबको उच्ची बस्सीको उकालोमा रेलको गति कम भएको बेला एकजना रेल चालक सो रेलमा चढेर आकस्मिक ब्रेक तानेर रेल रोक्न सफल भएको बताइएको छ ।
सामाजिक सञ्जालहरुमा चालकविहीन रेल गुडिरहेको भिडियोहरू भाइरल भएका छन् ।
उक्त घटनामा सो रेलका दुई जना चालकसहित ६ जनलाई निलम्बन गरिएको छ र घटनाको अनुसन्धान सुरु गरिएको छ ।
निलम्बन हुनेमा दुई चालकसँगै स्टेशनका सुपरिटेन्डेन्ट, पोइन्ट म्यान र अर्का अधिकारी पनि छन् ।
भविष्यमा यस्ता खालको घटनाहरू घट्न नदिने स्थानीय स्तरमा र उच्चस्तर दुवै तिर छानबिन सुरु गरिएको छ ।
Post Views: 153