मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गरेको नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ लाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्था, बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ ।
युवा दर्शकहरुको उत्साहका साथ सम्पन्न सो प्रतियोगिता निकै रोमाञ्चक रहेको थियो ।
नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ अन्तर्गत सम्पन्न खेलमा श्री पौडेल र संस्कार विष्ट विजयी बनेका छन् । नेसनल र नोभिस गरी दुई क्याटागोरीमा सम्पन्न सो मोटरसाइकल रेसिङ ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा सम्पन्न भएको थियो ।
नेसनलतर्फ श्री पौडेल विजयी बनेका छन् भने अजय तामाङले दोस्रो र रितेश खत्रीले तेस्रो स्थान हासिल गरेका छन् ।
त्यसैगरी नोभिसतर्फ संस्कार विष्ट विजयी बनेका छन् भने अभिनव राज मल्लले दोस्रो र अनिश थापा मगरले तेस्रो स्थान हासिल गरेका छन् ।
विजयी खेलाडीहरुलाई नासा नेपालका अध्यक्ष दशरथ रिसाल, मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्य र अन्य विभिन्न व्यक्तिहरुले पदक तथा शिल्ड वितरण गरेका थिए ।
दुवै क्याटागोरीमा विजयी हुने खेलाडीहरुले क्रमशः ५० हजार, ४० हजार र ३० हजार नगदका साथै पदक र शिल्ड प्राप्त गरेका छन् ।
नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा भएको थियो भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा भएको थियो ।
सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइएका थिए ।
यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको छ ।
यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना गरिएको हो ।