नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ हुने

मोटर स्पोर्ट्स नेपाल क्लबको आयोजनामा नेपाल रोड रेसिङ च्याम्पियनसिप २०२४ हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल कम्प्लेक्समा आगामी शुक्रबार र शनिबार आयोजना हुने सो च्याम्पियनसिपमा नेसनल र नोभिस क्याटागोरीमा मोटरसाइकल राइडरहरुबीच प्रतिस्पर्धा हुनेछ ।

नेसनल अन्तर्गत १५ जना राष्ट्रिय स्तरका मोटरसाइकल राइडरबिच रेसिङ प्रतिस्पर्धा हुनेछ भने नोभिस अन्तर्गत ४८ जना राइडरबिच प्रतिस्पर्धा हुनेछ ।

राइडरहरुका लागि आवश्यक ओरिएन्टेसन कार्यक्रम समेत शनिबार सम्पन्न गरिएको छ ।

मोटर स्पोर्ट्स नेपाल क्लबले आयोजना गर्ने सो प्रतियोगितालाई मोटरसाइकल रेसिङको अन्तर्राष्ट्रिय संगठन एफआईएम र त्यसको सदस्य नासा नेपाल लगायतका संघ संस्थाको सहयोग रहेको छ ।

त्यसैगरी नेपालमा रहेका बजाज, टीभीएस, यामाहा र सुजुकी मोटरसाइकलका आधिकारिक बिक्रेताहरुको समेत सहयोग रहेको छ । अफिसियल लुब्रिकेन्ट पार्टनर शेल लुब्रिकेन्ट रहेको छ ।

यस अनुसार सो प्रतियोगितामा बजाज पल्सर एनएस १६०, टीभीएस अपाचे आरटीआर १६०, यामाहाको आर१५ सिरिज र सुजुकीको जिक्सर १५५ मोटरसाइकल कुदाइने छ ।

यो वर्ष काठमाडौं, चितवन, पोखरा र फेरि काठमाडौंमा गरी चार स्थानमा च्याम्पियनसिप आयोजना गरिने कार्यक्रम रहेको मोटर स्पोर्ट्स नेपाल क्लबका अध्यक्ष सर्जल वैद्यले बताए ।

यसै अनुसार हाल काठमाडौं उपत्यकामा रेसिङ कार्यक्रम आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *