कपिलवस्तु बस दुर्घटनाका यात्रु भन्छन्…..

कपिलवस्तु — काठमाडौं कीर्तिपुरका अनिल ताम्राकार बुधबार बसमा महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै थिए । कपिलवस्तु आइपुग्दासम्म मध्यरात भइसकेको थियो ।

धेरै यात्रु मस्त निद्रामा थिए । ‘गाडी खासै तीव्र गतिमा पनि थिएन,’ दुर्घटनामा घाइते ताम्राकारले भने, ‘एकै पटक गियर अड्किएजस्तो भयो ।

घड्याकघड्याक भएर बसको बत्ती निभ्यो । खोलातिर खसेपछि के भयो, थाहै पाइनँ ।’

महेन्द्रनगरबाट बुधबार दिउँसो साढे ३ बजे काठमाडौंका लागि छुटेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस राति १२ बजेतिर कपिलवस्तुको शिवराज नगरपालिका–१ दोबाटो नजिक दुर्घटनामा परेको हो ।

पूर्व–पश्चिम राजमार्गस्थित दोबाटोको घुम्तीबाट सुरही खोलामा बस खस्दा १० जनाको मृत्यु भएको छ ।

चालकसहित ३० जना घाइते भएकामा १७ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

मृतकहरूमा रौतहट औराही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, कालीजंग गणमा कार्यरत सैनिक जवान सल्यानका अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरादावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी छन् ।

यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कञ्चनपुर पुनर्वासकी विमलादेवी भट्ट, भीमदत्त–२ का सुदीप भट्ट र भीमदत्त–९ का विसनदत्त भट्ट रहेको कपिलवस्तु प्रहरी प्रमुख एसपी नवरत्न पौडेलले बताए ।

घाइते यात्रुहरूले एक्कासि आवाज आएको केहीबेरमै बस अनियन्त्रित भएको बताएका छन् । ‘बस दुर्घटना हुनुअघि ढलकढलक गर्‍यो ।

हामी चिच्याउन थाल्यौं,’ महेन्द्रनगर वसन्तपुरचोक घर भएकी घाइते नारायणी थापाले भनिन्, ‘यत्तिकैमा पहाडबाट बस खोलामा खस्यो, म भित्रै डन्डी समातेर बसिरहें ।

मेरो छोरी र नातिनी पनि थिए, छोरी झ्यालबाट हामफालीजस्तो मान्थें ।’ पछि अरूले उद्धार गरेर नातिनी ल्याइदिएको उनले सुनाइन् ।

‘१२ बजे खसेको गाडी २ बजेसम्म उद्धार पाइएन । फोन पनि नलाग्ने ठाउँ रहेछ, कसलाई गुहार्ने ?’ उनले भनिन् ।

ओरालोमा ब्रेक फेल हुँदा बस अनियन्त्रित भएर खसेको चालक पूर्णबहादुर चन्दले बताए ।

‘१२/१ बजेको होला, गाडीको ब्रेक्फेल भयो । ओरालोमा सम्हाल्न खोजें, हुँदै भएन ।

आफैं तनावमा परें, चिन्ता लाग्यो । भित्तातिर च्याप्न खोजे पनि गाडी फर्केर आइहाल्यो ।

अनि खस्यो,’ घाइते भएर बुटवलस्थित चौराहा अस्पतालमा भर्ना भएका उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *