सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम सुस्त छ ।
सोही द्रुतमार्ग अन्तर्गतको सुरुङ निर्माणको काम भने तीव्रगतिमा भइरहेको छ ।
७०.९७ किलो मिटर लम्बाइको दु्रतमार्गमा महादेवटार, धेद्रे र लेनडाँडामा ६.७८ किलोमिटर लामो तीन सुरुङमार्ग बन्दै छन् ।
माघको तेस्रो सातासम्म ४.२६ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यो सुरुङमार्ग निर्माणमा ६६.५ प्रतिशत भौतिक प्रगति हो ।
गत पुस ४ गतेसम्म ३.५९ किमि सुरुङ खनिएको थियो । पछिल्लो साढे एक महिनामा मात्रै थप ६७४ मिटर सुरुङ खनिएको सेनाबाट प्राप्त आयोजनासम्बन्धीमा प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार ३३५५ मिटर लामो महादेवटार सुरुङमा ५५ प्रतिशत, १६३० मिटर लामो धेद्रे सुरुङमा ६६ प्रतिशत र १४३० मिटर लामो लेनडाँडामा ७५ प्रतिशत हारहारीमा भौतिक प्रगति भएको छ ।
यो आयोजनामा सुरुङमार्ग निर्माणलाई निकै चुनौतीको रूपमा हेरिएको छ ।
तर, त्यसको निर्माण द्रुतगतिमै भएको सेनाको प्रतिवेदनमा उल्लेख छ ।
०७८ जेठदेखि तीनवटै सुरुङमार्ग खन्न सुरु गरिएको थियो । सेनाका अनुसार दुवैतर्फको विन्दुबाट सुरुङ खन्ने तथा फिनिसिङको काम पनि अघि बढिरहेको छ ।
सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले निर्माण कम्पनीले सुरुङ बनाएर अन्य काम गर्ने योजना बनाउँदा धेरै काम भएको बताए ।