नेपालगन्जमा ट्राफिक लाइट जडान

अव्यवस्थित पार्किङ र जथाभावी सवारी चलाउँदा दुर्घटनाको जोखिम बढेपछि नेपालगन्ज उपमहानगरपालिकाको पहलमा ट्राफिक व्यवस्थापन गर्न थालिएको छ ।

अस्तव्यस्त ट्राफिकलाई व्यवस्थित गराउन बढी भिडभाड हुने रत्न राजमार्गअन्तर्गत जमुनाहा–कोहलपुर सडक खण्डका पाँच मुख्य चोकमा ट्राफिक लाइट जडान गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

नेपालगञ्जको राँझा, पुष्पलाल, धम्बोझी, बिपी र गणेशमान चोकमा ट्राफिक लाइट जडान गरिएको उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले बताए ।

यसले दुर्घटना न्युनिकरणका लागि सहज हुने मेयर विष्टले बताए ।

ट्राफिक व्यवस्थापनका लागि नेपालगन्जको धम्बोझी चोकदेखि घरबारी टोल हुँदै त्रिवेणी मोडसम्मको सडकलाई एकतर्फी पार्किङ कायम गरिएको छ ।

साँघुरो बाटोमा दुवैतर्फ पार्किङ हुँदा सवारीसाधन तथा यात्रुलाई आवतजावतमा समस्या भएको भन्दै धम्बोझी चोकबाट बागेश्वरी मन्दिर जाने प्रवेशद्वार हुँदै त्रिवेणी मोडसम्म एकतर्फी पार्किङ कायम गरिएको मेयर बिष्टले जानकारी दिए ।

सहरलाई सुन्दर र व्यवस्थित बनाउन पहिलो चरणमा साँघुरा सडकमा एकतर्फी पार्किङको सुरुवात गरिएको र पछि आवश्यक्ता अनुसार थप गर्दै जाने उनको भनाइ छ ।

आइतबार, सोमबार र मंगलबार दायाँ तथा बुधबार, बिहीबार र शुक्रबार बायाँतर्फ मात्र पार्किङ गर्न दिइनेछ ।

सडकमा गुडने सवारी साधनका चालक र सर्वसाधारण यात्रुलाई जेब्रा क्रसिङमा हिडने तरिकाका साथै ट्राफिक लाइटका चिन्ह, नियम र संकेतका बारेमा सामुदायिक प्रहरी सेवा केन्द्रको साझेदारीमा विद्याथीसहित सर्वसाधारणलाई सचेतना समेत दिन थालिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदीले दुई महिनासम्म सर्वसाधारणलाई सचेतना गराउने अभियान थालिएको बताए ।

‘यस अभियानले दुर्घटना न्यूनीकरण र सहर व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरेका छौं’ उनले भने ।

सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द्रकुमार जाशीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थी, सवारी चालक, सर्वसाधारणमा जेब्रा क्रसिङ सम्बन्धी सचेतना गर्न आवश्यकता महशुस गरी सचेतना गरीरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *