तिलोत्तमा — रुपन्देहीको रोहिणी गाउँपालिकामा आइतबार अटोमेटिक नम्बरप्लेट रेकिग्नेसन (एएनपीआर) क्यामेरा जडान गरिएको छ ।
पालिकाको वडा नम्बर ३ अन्तर्गत भैरहवा–परासी सडकखण्डमा गुड्ने सवारीसाधनको नम्बर प्लेट सहज रुपमा पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए ।
इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब सवारी दुर्घटनापश्चात उक्त दुर्घटनाबारे अनुसन्धान गर्न थप सजहता प्रदान हुने अध्यक्ष यादवले विश्वास व्यक्त गरे ।
‘औद्योगिक क्षेत्र समेत रहेको रोहिणीमा हुन सक्ने सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न यो क्यामेरा महत्वपूर्ण छ,’ उनले भने, ‘प्रहरीको प्रत्यक्ष निगरानी रहने गरी क्यामरा जडान गरिएको छ ।’
इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालकले सवारीले ‘हिट एण्ड रन’ गर्ने भएकाले सवारीसाधनको ‘मुभमेन्ट’ पत्ता लगाउन यो प्रविधि बहुउपयोगी हुने बताए ।
पालिकाले २०८०/८१ को बजेटबाटै १० लाख रुपैयाँमा उक्त क्यामेरा जडान गरेको हो ।
Post Views: 299