दुईवटा न्यारोबडी भाडामा लिन टेन्डर

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी जहाज वेट लिजमा लिन अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।

नेवानिले मंगलबार सार्वजनिक सूचना प्रकाशित गरी सार्वजनिक खरिद ऐन–नियमबमोजिम बोलपत्र आह्वान गरेको जनाएको छ ।

निगमले देशको पर्यटन प्रवद्र्धनमा सशक्त उपस्थिति देखाई विदेशी पर्यटकलाई सुलभ सेवा दिन दुईवटा न्यारोबडी भाडामा लिन लागेको जनाएको छ ।

यसरी भाडामा लिने जहाजको क्रु मेम्बर, मेन्टेनेन्स, इन्स्योरेन्सलगायत सम्बन्धित कम्पनीको हुनेछ ।

अहिले निगमसँग दुईवटा न्यारोबडी जहाज छन्, दुईवटा थपेपछि चारवटा पुग्नेछन् ।

निगमको कार्ययोजनाअनुरूप दुईवटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग भएपछि दुईवटा न्यारोबडी जहाजले उडान चाप धान्न नसक्ने भएकाले जहाज भाडामा लिन लागेको जनाएको छ ।

जहाज थपेपछि दिल्ली, दुबई, दोहा, मलेसियालगायतका सेक्टरमा उडानहरू थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान गर्ने योजना निगमको छ ।

उक्त जहाजहरू आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *