रामेछाप नगरपालिका– ८ मानेडाँडामा लु.९६प १९६० नम्बरको मोटरसाइकलले सडकमा हिँड्दै गरेका एक बालकलाई ठक्कर दिँदा उनको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा छिमेकी मुलुक भारत घर भई रामेछापडाँडामा रहेको एक मोटरसाइकल वर्कसपमा काम गर्ने जाबेद खानका सात वर्षका छोरा मुराज खान रहेका छन्।
सदरमुकाम मन्थलीबाट शनिबार दिउँसो रामेछापडाँडातर्फ जाँदै गरेको उक्त मोटरसाइकलले सडकमा हिँड्दै गरेका बालकलाई ठक्कर दिएको थियो।
घाइते बालकको घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा आइतबार बिहान ज्यान गएको हो।
मोटरसाइकलचालक नयाँ गोरख गण रामेछापमा कार्यरत मन्थली नगरपालिका– २ का २३ वर्षीय अशोक थापालाई प्रहरी चौकी रामेछापडाँडाले नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।