काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धरहरामा सुरु भएको निशुल्क पार्किङ बन्द नहुने चेतावनी दिएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले सर्वसाधारणको लागि पार्किङ खुल्ला गर्दा पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको भन्दै आफू छउन्जेल काठमाडौं महानगरमा कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन नदिने चेतावनी दिए ।
उनले लेखेका छन् ‘२०७८ वैशाख ११ शनिबार अर्थात आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालिन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो ।
सोही उदघाटनलाई काठमाडौंका तत्कालिन मेयर विद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालिन अवस्थामा भएको भए केपि ओलि टावर भन्थे ।
’तर केहिदिन अगाडि त्यहि ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुदैछ । पार्किङ बन्द गर्नु ।’
उदघाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ?
पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नुभन्दा तत्कालीन प्रधानमन्त्री केपि ओलीले भन्नुभएको थियो, नबनेको भए म बिसौँ तलामा कसरी पुगेँ, भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ ।
उनले तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाउन आवश्यक रहेको बताए ।
केपी ओलीप्रति लक्षित गर्दै भने,‘तोकिएको समयमा निर्माण भइनसक्ने, भित्तामा नाम लेख्ने हतारोमा निर्माण नभइ उदघाटन हुने जस्ता प्रवृतिलाई भ्रष्टाचारकै नयाँ प्रकृति मानिने राष्ट्रिय नीति बनाऔँ ।
संघीय र प्रदेश संसद तथा संघीय र प्रदेश सरकारले त्यस्तो नीति पारित गर्न जरूरी छ । निर्माण सम्पन्न नभइ उदघाटन गर्ने कुप्रवृतिलाई निरूत्साहित गरौँ ।’
मेयर बालेनले सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगर्न सम्बन्धित पक्षलाई आग्रहसमेत गरेका छन् ।
उनले भनेका छन् ‘सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर गर्ने र शहरको व्यवस्थापनमा प्रभाव पार्ने यस्ता कुराहरूसँग ख्याल ठट्टा नगरौँ ।
सो स्थानमा पार्किङ बन्द छैन र बन्द हुने छैन महानगरको पहलमा अहिलेको लागि निशुल्क सन्चालन हुँदै छ , अझै व्यवस्थापन गर्दै लग्नेछौ ।
अहिले धेरैको नजर यहाँको पार्किङको ठेक्का लिएर नेपाल सरकारको सम्पत्तिमाथि रजाइ गर्ने मनसाय देखिएको छ ।
हामी काठमाडौ महानगरमा रहुन्जेल कसैको निजि स्वार्थको लागि सार्वजनिक सम्पती प्रयोग हुन दिने छैनौ ।