नागढुंगा-नौबिसे-मुग्लिङ सडक : स्तरोन्नति सुस्त, यात्रुलाई सास्ती

काठमाडौँ — नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर लगाइएको ठेक्काको काम भने सुस्त देखिएको छ ।

नागढुंगादेखि नौबिसे र नौबिसेदेखि मलेखुसम्मको खण्डमा जथाभावी सडक भत्काएर काम गर्दा यात्रुले धूलो र ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।

पुरानो कालोपत्र सडक खनेर भत्काइएको छ । कतै नाली बनाइरहेको छ त कतै पर्खाल निर्माण गरिरहेको देख्न सकिन्छ ।

केही–केही खण्डमा भने अहिलेसम्म काम नै सुरु भएको छैन । मलेखुदेखि मुग्लिङसम्मको खण्डमा फाट्टफुट्ट मात्र काम भएको छ ।

विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यस सडकको पहिलो खण्ड नागढुंगा–नौबिसे छ ।

१२.२६ किमि दूरीको यो खण्डको १ अर्ब ३० करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७९ जेठ २६ बाट थालिएको थियो ।

२ वर्षभित्र सक्नुपर्नेमा निर्माण थालेको १९ महिना बितिसक्दा भौतिक प्रगति भने ३६ प्रतिशत मात्र छ ।

जाङ्सु–सगुन जेभीले लिएको ठेक्का ५ महिनाभित्र ६४ प्रतिशत काम सकिने अवस्था देखिँदैन ।

तर सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर त्रिलोकनाथ घिमिरेले भने पर्खाल र नाली निर्माणको धेरै काम सकिइसकेको बताए ।

‘यो खण्डमा पर्खाल र नालीको धेरैजसो काम सकिइसकेको छ, सडक कालोपत्रका लागि पनि तयारी भइरहेको छ,’ उनले भने, ‘केही–केही ठाउँमा रूख कटानको समस्या भएर पनि काममा ढिलाइ भएको हो ।’ तोकिएकै समयमा सक्ने गरी प्रयास भइरहेको उनले जनाए ।

दोस्रो खण्ड नौबिसे–मलेखुको ४३.५४ किमि दूरीको ठेक्का रकम ५ अर्ब ३३ करोड १९ लाख रुपैयाँ छ । ठेक्का जेडआईसीजी–शर्मा–लामा जेभीले लिएका हुन् ।जेडआईसीजी चिनियाँ कम्पनी हो ।

ठेक्का सम्झौता ०७९ वैशाख १४ मा भएको र कार्यादेश जेठ २६ मा दिइएको थियो । सुरु सम्झौताअनुसार ०८२ जेठ २५ भित्र स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ ।

तर निर्माणको समय १७ महिना बाँकी छँदा यो खण्डको भौतिक प्रगति भने १४ प्रतिशत मात्रै छ ।

‘यो खण्डमा भने अपेक्षाभन्दा कम प्रगति छ, केही समयअघि सबै क्रसर उद्योग बन्द हुँदा निर्माण सामग्री पर्याप्त उपलब्ध हुन सकेन,’ उनले भने, ‘जसको प्रभाव निर्माणको काममा परेको हो ।’

स्थानीयस्तरमा निर्माण सामग्री उत्खननमा विभिन्न समयमा अवरोध हुने गरेकाले समस्या आएको घिमिरेको भनाइ छ ।

तेस्रो खण्ड मलेखु–मुग्लिङको ठेक्का शर्मा–जेडआईसीजीले लिएको छ ।

४ अर्ब ८० करोड ५९ लाख रुपैयाँ ठेक्का रकम रहेको यसको दूरी ३८.८६ किमि छ । ठेक्का सम्झौता ०७९ पुस १५ मा भएको यस खण्डको निर्माण तीन वर्षभित्र सकिनुपर्नेछ ।

निर्माण सुरु भएको एक वर्षमा भौतिक प्रगति २ प्रतिशत मात्र छ । ‘यो खण्डमा प्रगति कम छ, काम ढिला सुरु भएको हो,’ महाशाखाका इन्जिनियर घिमिरेले भने, ‘काम तोकिएको समयभित्र सक्नुपर्नेछ ।’

सडकको स्तरोन्नति थालिएसँगै यो खण्डमा व्यापार–व्यवसाय गर्दै आएकाहरूले मारमा परेको गुनासो गरेका छन् । बजार र पसल अगाडि माटो र ढुंगाको थुप्रो लगाइएको छ ।

घाम लाग्दा धूलो र पानी पर्दा सडक हिलाम्मे बन्ने गरेको छ । मुलुककै ‘लाइफलाइन’ सडकका रूपमा रहेको यो खण्डमा पर्ने बजार क्षेत्रमा चार र अन्य खण्डमा दुई लेन सडक निर्माण गरिनेछ ।

यही खण्ड भएर राजधानीका लागि लत्ताकपडादेखि दैनिक उपभोग्य वस्तु भित्रिने गरेको छ ।

जसले गर्दा सडक निर्माणमा ढिलाइ गरिए दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत समस्या हुँदै आएको छ ।

सडक विभागका अनुसार दुई लेनको सडक ४८ किमि, क्लाइम्बिङ लेन ३७.५ किमि र चार लेन सडक ९.४ किमि बन्नेछ । यो खण्डमा २१ वटा नयाँ पुल निर्माण गरिनेछ ।

अहिले दुई लेनका पुल छन् । तिनै पुलका छेउमा थप दुई लेनका नयाँ पुल निर्माण गरिनेछ ।

उक्त सडक खण्डहरूमा निर्माणमा ढिलाइ भइरहेको गुनासा आएकाले विकास सहायता कार्यान्वयन महाशाखाले निर्माण व्यवसायीहरूलाई बोलाएर तोकिएको समयभित्र काम सक्न भनेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता रामहरि पोखरेलले बताए ।

‘अब कामको गति केही बढ्नेछ,’ उनले भने, ‘जनशक्ति र मेसिनको पनि समस्या थियो, अब सबै व्यवस्थापन गरेर काम अघि बढाउन व्यवसायी सकारात्मक भएको बुझिएको छ ।’

उनका अनुसार रूख कटानले गर्दा पनि निर्माणको काममा केही ढिलाइ भएको हो ।

नागढुंगा–मुग्लिङ सडक खण्ड भएर दैनिक १० हजार बढी ठूला साना सवारी ओहोरदोहोर गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *