सवारी प्रदुषण मापदण्ड बीएस६ र यूरो६ कार्यान्वयनमा सरकारी पहल र यातायात व्यवसायीहरु तथा निजी क्षेत्रको तयारीको सन्दर्भमा अटो पत्रकार संघ (जाम) नेपालले हालै राजधानीमा वृहत अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको छ ।
धुवाँधुलो मुक्त सहर, स्वच्छ वातावरण र व्यवस्थित यातायात प्रणाली आजको आवश्यकता भएको कुरामा उपस्थित सबैको सहमति थियो ।
वातावरण विज्ञ भुषण तुलाधरले प्रस्तुत गरेको वातावरणमा सवारीसाधनले पुर्याएको असर र यसबाट मानिसमा पर्न गएको स्वासप्रस्वास सम्बन्धि समस्याको प्रतिवेदनबाट शुरु भएको उक्त कार्यक्रममा सवारीसाधनबाट हुने वातावरणीय प्रभावको बारेमा नै विशेष छलफल भएको थियो ।
आफ्नो प्रतिवेदनमा वातावरण विज्ञ तुलाधरले यदि स्वस्थ वातावरण भएमा नेपालीको औसत आयुमा ४.६ प्रतिशतले बढोत्तरी हुने थियो ।
नेपालको परिवेसमा गाउँतिर भान्सामा दाउरा बालेर उत्पन्न हुने धुवाँको प्रदुषण र शहर तथा राजमार्गमा सवारीसाधनबाट उत्पन्न हुने धुवाँ नै वातावरण प्रदुषणका प्रमुख कारण भएको विज्ञ तुलाधरले बताउनुभयो ।
नेपालमा झण्डै ४२ हजारभन्दा बढी मानिसको वातावरण प्रदुषणको कारणले स्वासप्रस्वासमा हुने समस्याले गर्दा मृत्यु हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष करण चौधरीले सवारीसाधनको क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु वातावरण प्रति सचेत र जिम्मेवार भएको बताउनुभयो ।
सरकारले सवारीसाधनमा युरो ६ को मापदण्ड पालना गराउनमा सबै व्यवसायी सहमत भएको बताउँदै त्यसका लागि केहि समय तयारीका लागि दिनुपर्ने माग गर्नुभयो ।
यसका लागि नीजि क्षेत्र मात्र नभई सरकारी तवरबाट पनि केहि भुमिका हुनुपर्ने नाडा अध्यक्ष चौधरीको आसय रहेको थियो ।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सिडिइ शिवराज शर्माले व्यवसायीको सल्लाह वमोजिम नै मापदण्ड लागु गर्ने पक्षमा मन्त्रालयले सिफारिस गरेको बताउनुभयो ।
सवारीसाधनको आयातका लागि एलसी खोलिसकिएको अवस्थामा व्यवसायीलाई पनि मर्का नपर्ने गरी के गर्न सकिन्छ भन्ने बिषयमा उचित निर्णय लिनको लागि मन्त्रालयले सरकारलाई सुझाव दिएको शर्माले बताउनुभयोे ।
वातावरण विभागका सिडिके दिपक ज्ञवालीले अब आउने सवारीसाधनमा भन्दा पनि अहिले सँचालनमा रहेका पुराना सवारीसाधनको व्यवस्थापनमा नीति बनाउन तथा तत्सम्बन्धि कार्यान्वयन गर्न तर्फ उचित कदम चाल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा भेहिकल फिटनेस टेष्ट सेन्टर, टेकुका प्रमुख मणिराम भुषालले वातावरण सुधारका लागि अहिले सँचालनमा रहेका पुराना सवारीसाधनको प्रदुषण चेकजाँच तथा मर्मत सम्भार महत्वपुर्ण हुने बताउनुभयो ।
नेपाल अटोमोवाइल मेकानिक व्यवसायी संघका पुर्व अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले युरो ६ लागु गर्नु लगत्तै मेकानिकलाई आवश्यक तालिम तथा वर्कशपहरुमा आवश्यक उपकरण उपलब्ध गराउन सरकारले पहल गर्नुपर्ने बताउनुभयो ।
नेपाल यातायात व्यवसायी राष्टिय महासंघका अध्यक्ष विजय स्वाँरले सबैभन्दा बढी वातावरण प्रदुषण गर्ने सवारीसाधन भनेको सार्वजनिक सवारीसाधन भएकाले यस तर्फ सरकारले पनि केहि भुमिका निभाउनुपर्ने बताउनुभयो ।