ट्रायल दिंदा आफ्नै सवारी प्रयोग गर्न पाउने

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिने सबै आवेदकलाई आफ्नै सवारी साधन प्रयोग गर्न दिन सातै प्रदेश सरकारलाई निर्देशन दिएको छ ।

आइतबार एक पत्र लेख्दै सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिंदा परीक्षार्थीलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन सातै प्रदेश सरकारहरुलाई निर्देशन दिएको हो ।

यातायात कार्यालयले तोकेको प्रशिक्षण केन्द्रमा ट्रायल दिन जाँदा परीक्षार्थीले चर्को शुल्क तिर्नु परेको गुनासो आएको केन्द्रको भनाइ छ ।

यसले सेवाग्राहीलाई असुविधा भएको भन्दै केन्द्रले परीक्षार्थीलाई आफ्नै सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

यसअघि लुम्बिनी प्रदेशले आफ्ना मातहतका सम्पूर्ण यातायात कार्यालयलाई सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिंदा प्ररीक्षार्थीको स्वेच्छाले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

तर, अधिकांश यातायात व्यवस्था कार्यालयले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था लागु गरिसकेका थिएनन् ।

सतर्कता केन्द्रको पत्रमा भनिएको छ, ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लगायत कुनै पनि नेपाल कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नुपर्ने किसिमका बाध्यात्मक व्यवस्था उल्लेख भएको नदेखिएको हुँदा आम परीक्षार्थीहरुको गुनासो सम्बोधन गर्न ट्रायल दिने परीक्षार्थीहरुलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन र सोको कार्यान्वयनको जानकारी यस केन्द्रलाई उपलब्ध गराउन मिति २०८०।१०।०५ गतेको सचिवस्तरीय निर्णय बमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३८ को ९छ० अनुसार निर्देशन दिइएको व्यवहोरा अनुरोध ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *