मालवाहक रेल सञ्चालन भए रेल र व्यापार दुवैलाई नाफा

यात्रुवाहक रेल सेवा सँगै मालवाहक रेल सञ्चालन भयो भने त्यसले रेल्वे कम्पनीलाई फाइदा हुनुका साथै यस क्षेत्रको व्यापार व्यवसायमा पनि उल्लेख्य फाइदा पुग्ने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्।

‘यदि मालवाहक रेल सञ्चालनमा आयो भने भारतसँग सीधा व्यापार सम्बन्ध हुनुको साथै सस्तो मूल्यमा सामान आयात हुन्थ्यो र त्यसबाट महँगीसमेत नियन्त्रणमा आउँथ्यो,’ अध्यक्ष महासेठ भन्छन्, ‘कार्गाे सेवा सञ्चालनमा ल्याउन सके मधेस प्रदेशलगायतका उद्योगी व्यवसायीहरूलाई भारतबाट सीधै कच्चा पदार्थ, कोइला, खाद्यानलगायतका सामानहरू ढुवानीमा धेरै नै कम खर्च पर्न जान्छ।

यसका लागि रेल विभागबाट पहल भएको छैन।’

नेपाल रेल्वे कम्पनी लिमिटेडका पदाधिकारीहरूसँग मधेस प्रदेशका पाँच जिल्लाका उद्योगी व्यापारीहरूले गत माघमा सामूहिक छलफल गरी मालवाहक रेल सञ्चालन गर्न सुझाव दिएका थिए।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाहीका उद्योगी व्यवसायीहरूसँगको छलफलमा नेपाल रेल्वे कम्पनीका पदाधिकारीहरूले मालवाहक रेल चलाउन आफूहरू सकारात्मक रहेको र तत्कालका लागि जनकपुरधाममा कति परिमाणमा मालसामान ल्याउन सकिन्छ भनेर उद्योगी व्यवसायीहरूसँग यकिन गरेर तथ्यांक उपलब्ध गराउन आग्रह गरेका थिए।

तर, त्यसपछि यो विषयमा दुवै तर्फबाट कुनै पहल भएन।

कार्गाे सेवा सञ्चालनका लागि भारतीय दूतावासले १०-१० वटा बोगीसहितको २ सेट रेल दिन तयार रहे पनि नेपाल सरकारले नै कुनै चासो नदेखाएको व्यापारीहरूको आरोप छ।

कार्गो सेवा हाल वीरगन्जमा सञ्चालनमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *