लाल सागरमा अमेरिकी जहाजमा हुथी विद्रोहद्वारा मिसाइल प्रहार

इरान समर्थित यमनको सशस्त्र समूह हुथी विद्रोहीले आइतबार लाल सागरमा अमेरिकी कार्गो जहाजमा मिसाइल प्रहार गरेको छ ।

यस आक्रमणमा ग्रिबल्टार इगल नाम गरेको सो जहाजमा कुनै चोट वा उल्लेख्य क्षति नभएको बताइएको छ ।

घटनाको समयमा जहाज गल्फ अफ अडेनतिर जाँदै थियो ।

हमासविरुद्धको इजरायली युद्धको विरोध गर्दै हुथीहरुले नोभेम्बरदेखि नै लाल सागर भएर आवतजावत गर्ने कार्गो जहाजमा आक्रमण गरिरहेका छन् ।

यो हमलालाई अमेरिका र बेलायतले हालै गरेको आक्रमणको जवाफी हमला मानिएको छ ।

तर, हुथी विद्रोहीले अहिलेसम्म आक्रमणको जिम्मेवारी लिएका छैनन् ।

इजरायल–हमास युद्धको बिचमा, हुथी विद्रोहीहरूले स्वेज नहरलाई युरोपसँग जोड्ने महत्त्वपूर्ण करिडोरमा एसिया र पश्चिम एसियाबाट तेल र कार्गो जहाजहरूलाई निशाना बनाइरहेका छन् ।

यसले युद्ध क्षेत्रीय द्वन्द्वमा परिणत हुने खतरा बढाएको छ ।

लाल सागरबाट आएको थियो मिसाइल

क्षेप्यास्त्र रेड सी बन्दरगाह सहर होडेडा नजिकबाट आएको थियो । यो सहर लामो समयदेखि हुथी विद्रोहीहरूको नियन्त्रणमा छ ।

आक्रमणमा जहाजमा कुनै हताहत वा क्षतिको कुनै रिपोर्ट आएको छैन । हुथी विद्रोही विरुद्धको अमेरिकी नेतृत्वको अभियानमा शुक्रवार २८ स्थानमा हमला गरिएको बताइएको छ ।

लडाकु विमान, युद्धपोत र पनडुब्बीबाट प्रहार गरिएको क्रुज मिसाइलले ६० भन्दा बढी स्थानलाई निशाना बनाएको थियो ।

अमेरिकी सेनाले शनिवार पनि हुथी विद्रोहीको राडारमा आक्रमण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *