दुर्गम क्षेत्रका आमजनताको ठूलो मागलाई सम्बोधन गर्न र हिमाली गन्तव्यमा हवाई सेवा बढाउने भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हालै तीनवटा साना जहाज खरिद गर्न बोलपत्र आह्वान गरी तीनवटा कम्पनीका प्रस्तावमाथि प्रक्रिया अघि बढेको समाचारमा आएको छ ।
साना हवाईजहाज खरिद प्रक्रिया बढाउनुअघि कर्णाली प्रदेश तथा अन्य हिमाली गन्तव्यलाई केन्द्रमा राखी त्यहाँको वर्तमान हवाई तथा सडक यातायातको अवस्था र त्यस क्षेत्रमा मानिसको आवतजावत एवं आर्थिक गतिविधिमा कनेक्टिभिटीको आवश्यकता र योगदानबारे विश्लेषण पक्कै भएको हुनुपर्छ ।
पछिल्ला २५ वर्षमा देशका सबै प्रदेश वा पर्यटकीय गन्तव्यले गरेको आर्थिक एवं सामाजिक विकासको तुलनात्मक विश्लेषण गर्दा नेपालको भौगोलिक बनोटका कारण देशका सबै प्रदेशमा सडक सञ्जालको विस्तार भएको छैन, भएका अधिकतम स्थानमा पनि भूगोलमा रेखा कोरेझैँ कच्ची ट्र्याक मात्र खोली मानिसको आवतजावत गर्ने गरेको पाइन्छ ।
त्यसैले, पछिल्ला ६०–७० वर्षदेखि नै नेपालका दुर्गम हिमाली गन्तव्यलाई सडक मार्गबाट भन्दा पनि हवाई मार्गबाट जोडी मानिसको आवतजावत र सरसामानको बन्दोबस्ती गरिँदै आएको पाइन्छ ।
देश संघीय संरचनामा गएको, सबै प्रदेशका बासिन्दाले समान रूपमा राज्यको स्रोत र साधनमा पहँुच पुग्न अत्यावश्यक पूर्वाधार विकासमा सडक एवं हवाई कनेक्टिभिटीमा राज्यले पुर्याएको योगदानलाई हेर्ने क्रममा दुर्गम स्थानको वास्तविक स्थितिलाई पनि हेर्नु आवश्यक छ ।
साथै, पछिल्ला वर्षमा देश र समाजले विकासमा फड्को मारिरहेको अवस्थामा देशका सबै भूभागलाई जोड्ने हवाई यातायात सञ्चालन गरी आवतजावत गर्न निजी वायुसेवा कम्पनी र सरकारी स्वमित्वमा रहेको नेपाल वायुसेवा निगमले नयाँ हवाईजहाज थप्नु अपरिहार्य नै देखिन्छ ।
कर्णाली प्रदेशको हवाई सेवाको विकास र विस्तारबारे व्यक्तिगत अनुभव यहाँ राख्न चाहन्छु ।
सन् २००१ को जनवरी ११ देखि १८ सम्म एसियन डेभलपमेन्ट बैंकको आर्थिक सहयोगमा नेपालका लागि प्रस्तावित इको टुरिजम परियोजनाका सन्दर्भमा पंक्तिकार र परियोजनाको कन्सल्टेन्सी कम्पनीका तर्फबाट डा. ज्ञानेन्द्र तुलाधरलाई डोल्पाको जुफाल, सुर्खेत र हुम्लाको सिमकोट हवाई अड्डाको स्थलगत भ्रमण गरी त्यहाँका स्थानीय प्रतिनिधि र पर्यटन व्यवसायीसँग छलफल गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको थियो ।
प्रस्तावित परियोजनाले कर्णाली क्षेत्रमा पर्यापर्यटनको ठूलो सम्भावना देखेर त्यहाँका पर्यटन गन्तव्यको विकास गर्ने परियोजनाअनुरूप वर्तमान हवाई अड्डाकोे विकास एवं विस्तार गर्न ताल्चा रारा, (मुगु), जुफाल (डोल्पा) र सिमकोट (हुम्ला) हवाई अड्डालाई सुविधायुक्त बनाउने उद्देश्य लिई रनवे विस्तार एवं कालोपत्रे गर्नुका साथै थप आधुनिक उपकरण जडान गरी बाह्रैमास हवाई उडान सञ्चालन गर्ने योजना थियो ।
त्यतिखेर देशमा माओवादी द्वन्द्वले गति लिइरहेको थियो ।
डोल्पाको जुफालमा उत्रेर सदरमुकाम दुनै बजार पुग्दा त्यसको दुई दिनअघि मात्र सदरमुकाममा दुवै सेनाको भिडन्त भई जिल्ला प्रशासन कार्यालय, जेलघर आदि सम्पूर्ण पूर्वाधार भग्नावशेषमा परिणत भएका थिए ।
स्थानीय पर्यटन व्यवसायी अंगद शाहीको ब्लुसिप होटलमा स्थानीय पर्यटन व्यवसायीसँग छलफल गरी दुई दिनपछि हामी एयर अनन्याको हेलिकोप्टरबाट सुर्खेत फर्कियौँ ।
सुर्खेत हवाई अड्डामा एक दिन निरीक्षण एवं एयरपोर्ट मेनेजरसँंग त्यहाँको वस्तुस्थितिबारे छलफल गरी अर्को दिन नेपाल एयरलाइन्सको जहाजबाट हुम्लाको सिमकोट पुग्यौँ ।
त्यहाँ पनि दुई दिन बसी एयरपोर्ट मेनेजर र स्थानीय निकायका प्रतिनिधि एवं पर्यटनसम्बद्ध सरोकारवालासँग छलफल गरी नेपालगन्ज हुँदै काठमाडौं फर्कियौँ ।
यस अनुभवले पंक्तिकारलाई कर्णाली प्रदेशको त्यसताकाको हवाई यातायात सेवाबारे प्रत्यक्ष बुझ्ने मौका मिलेको थियो ।
प्रस्तावित एसियन डेभलेपमेन्ट बैंकको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गर्ने इको टुरिजम परियोजनाअन्तर्गत हिमाली गन्तव्य सिमकोट (हुम्ला), जुफाल (डोल्पा), जोमसोम (मुस्ताङ), सुकेटार (ताप्लेजुङ) र तुमलिङटार (संखुवासभा) हवाई अड्डाको रनवे कालोपत्रे गर्ने र आधुनिक उपकरणको जडान गर्ने परियोजना रहेको थियो ।
साथै, पश्चिम नेपालको कर्णाली क्षेत्रका हिमाली गन्तव्य रारा र से–फोक्सुन्डो तालबीचको स्थान मसिनेचौर डोल्पामा ठूलो एयरपोर्ट बनाई १८ सिटरभन्दा ठूला क्षमताका हवाईजहाज उतार्न सक्ने पूर्वाधार निर्माण गरी कर्णाली क्षेत्रमा पर्यापर्यटनको विकास गर्ने विस्तृत सम्भावना अध्ययन गरी अघि बढ्ने परियोजना तयार गरिएको थियो ।
तत्कालीन आन्तरिक द्वन्द्वको अवस्थाले गर्दा सो परियोजना कार्यान्वयन हुन सकेन ।
पछि हाम्रै देशको आन्तरिक स्रोतबाट नेपाल नागरिक उड्डयन प्राधिकरणले हुम्लाको सिमकोट, डोल्पाको जुफाल, मुस्ताङको जोमसोम र तुम्लिङटार एयरपोर्टकोे रनवे कालोपत्रे गर्नुका साथै आवश्यक उकरणको जडान गरेको देखिन्छ ।