२८ डिसेम्बर २०२१ मा बायाँ इन्जिनमा समस्या आएर न्यारोबडी ९एन–एकेडब्लू कतारको दोहामा ग्राउन्डेड भएको थियो । त्यसयता दुईवटा न्यारोबडी जहाज पटक–पटक महिनौँ ग्राउन्डेड भइरहेका छन् ।
यसरी जहाज ग्राउन्डेड भइरहँदा निगमको अन्तर्राष्ट्रिय उडान अस्तव्यस्त भएको छ ।
साथै, व्यस्त सिजनमा जहाज अभावले उडान कटौती गर्नुपर्दा निगमको बजार हिस्सा विदेशी कम्पनीले लिन थालेका छन् ।
निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, बैंकक, क्वालालम्पुर, हङकङ, दोहा, जापान, दुबई, दम्मामलगायतका गन्तव्यमा उडान गर्दै आएको छ ।
निगमले वाइडबडी जहाजबाट कोरिया, अस्ट्रेलिया, युरोप हुँदै अमेरिकासम्म उडान गर्ने लक्ष्य लिएको थियो ।
तर, अहिलेसम्म जापानबाहेक अरू लामो दूरीका गन्तव्यमा उडान गर्न सकेको छैन । लामो दूरीमा उडान गर्ने जहाजलाई छोटो दूरीमा प्रयोग गर्दा निगमले वाइडबडीमा ठूलो घाटा व्यहोर्दै आएको छ ।
निगम नेतृत्व जहाजहरू उडाएर आम्दानी गर्नेभन्दा पनि ग्राउन्ड ह्यान्डलिङ सेवामा सन्तुष्ट भएर बसेका छन् ।
ग्राउन्ड ह्यान्डलिङ सेवामा केन्द्रित हुँदा भएका जहाजहरू पूर्ण क्षमतामा सञ्चालन गर्न निगम व्यवस्थापन अक्षम सावित हुँदै आएको छ ।
निगमको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसिएमा कर्मचारीलाई तलब खुवाउनसमेत सकस हुन्छ ।
निगमले काठमाडौं, भैरहवा र पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको छ ।