नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार लुम्बिनी प्रदेशमा साना ठूला गरी झन्डै साढे पाँच वर्षको अवधिमा ५ हजार १० वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
५ हजार ५ सय ५५ जना गम्भीर र ३ हजार ५ सय २ जना मानिस सामान्य घाइते भएका छन्।
५ लाख ४२ हजार ३ सय ३७ वटा सवारीसाधन कारबाहीमा परेका छन्। तर, ढुक्कसँगको यात्रा नागरिकहरूले गर्न पाएका छैनन्।
दुर्घटनामा परेर नागरिकको मृत्यु हुने क्रम दिनहुँजसो हुने गरेको छ।
दुर्घटना हुनुमा सरकार, व्यवसायी र मजदुर सबैको दोष देखिए पनि तुलनात्मक रूपमा बढी दोष राज्यबाटै हुने गरेको यातायात व्यवसायीहरू बताउँछन्।
‘तथ्यांकै हेर्ने हो भने मुलुकको राजस्वमा करिब ३३ प्रतिशत हिस्सा यातायात क्षेत्रले ओगटेको छ’, पश्चिम नेपाल बस व्यवसायी संघ रूपान्तरित प्रालि बुटवलका अध्यक्ष दधिराम खरेलले भने, ‘तर, यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टि सकरात्मक नहुँदा दिनहुँ दुर्घटनाको सिकार बन्नुपरेको छ।’
पश्चिम नेपाल बस व्यवसायी संघ रूपान्त्रित प्रालि नेपालकै सबैभन्दा ठूलो व्यवसायी प्रालि हो।
उक्त प्रालिमा हाल सानाठूला गरी २ हजार ४ सय सवारीसाधनहरू आबद्ध छन्।
नेपालका सबै जिल्लामा उक्त प्रालिका सवारीहरू पुग्छन्।