हाम्रो मुलुक आयातमा निर्भर मुलुक हो भन्दा अत्युक्ति नहोला । यहाँ अधिकाँश वस्तुहरु आयातित नै हुन्छन् ।
कृषिप्रधान मुलुक भनियता पनि चामल, दाल, तरकारी लगायतका कृषि उपज पनि आयात नै भएका छन् ।
अन्य औद्योगिक वस्तुको त के कुरा भयो र ? एक त नेपालमा प्रशस्त उद्योग नै छैनन् भने अर्को कुरा भएका उद्योग पनि आयातित विदेशी वस्तुसँग प्रतिष्पर्धा गर्न नै नसक्ने अवस्थामा छन् ।
तर नेपालकै एउटा यस्तो उद्योग पनि छ, जसले आफुले उत्पादन गर्ने वस्तुको विदेशी आयातलाई शतप्रतिशत नै विस्थापित गर्न सफल भएको छ । सुन्दा पनि कति आशालाग्दो कुरा । त्यो उद्योग हो, कोहिनुर मेटल उद्योग ।
बुटवलको बुटवल औद्योगिक क्षेत्रमा २०४४ सालमा कुलर र लेगगार्डको उत्पादन गरी उद्योग शुरु गरेको सो उद्योगले आजको मिति सम्म आउँदा अन्य मुलुकबाट आउने लेगगार्डलाई करिब शतप्रतिशत नै विस्थापित गरेको छ ।
शुरुमा लेगगार्ड र कुलर उत्पालन गर्ने गरिएकोमा हाल आएर हेलमेट पनि उत्पादन भइरहेको छ । यो उद्योग लेगगार्ड र हेलमेट उत्पादन गर्ने नेपालको पहिलो उद्योग हो ।
रामप्रसाद बस्यालले शुरु गरेको उद्योगलाई अहिले उनका छोरा सुमन बस्यालले अगाडि बढाइरहेका छन् ।
दैनिक ४ हजार लेगगार्ड र हेलमेट उत्पादन गर्ने क्षमता भएपनि अहिले दैनिक २५ सय मात्र उत्पादन भइरहेको उद्योगका सँचालक सुमन बस्यालले बताए ।
उद्योग शुरु गर्दाताका खासै बजार पाउन नसकेता पनि गुणस्तरमा कमि आउन नदिई अनवरत रुपमा गुणस्तरीय उत्पादनमा ध्यान दिएकाले हाल आएर आम उपभोक्ताको रोजाईमा पर्न सकेको सँचालक बस्यालको तर्क छ ।
नेपालीहरुको बानी विदेशी वस्तु भने पछि हुरुक्क हुने तर नेपाली वस्तुप्रतिको चासो कम हुँदा शुरुका बर्षहरुमा केहि मेहनत गर्नुपरेको उनको भनाई छ ।
उनका अनुसार भारतबाट आउने लेगगार्ड भन्दा उनको उद्योगमा उत्पादन भएको लेगगार्डको गुणस्तर बलियो भएकाले बजार ओगट्न सकेको हो । अहिले भारतबाट नेपाल आउने लेगगार्ड एकदमै कम छ ।
लेगगार्ड जस्तै हेलमेट उत्पादनमा पनि उक्त उद्योगको लगाव निक्कै आशालाग्दो छ ।
नेपालका बजारमा चलेका, उपभोक्ताको रोजाइमा रहेका र फेशनमा रहेका हेलमेटको बारेमा बुझेर त्यसको डिजाइन गरी उत्पादन गरिने भएकाले पनि अहिले धेरैको रोजाइमा कोहिनुर हेलमेट रहेको छ ।
शुरुमा भारतबाट दैनिक रु १ लाखसम्म पनि भुक्तानी दिने गरी काम गर्न जानेको मान्छे ल्याएर काम गर्नुपरेको उनले खुलाए । केहि दिनको सिकाइ पछि यहिँका जनशक्तिलाई तयार गरिएको तितोसत्य उनले सुनाए ।
हेलमेट उत्पादनमा लाग्ने सबै पार्टस्हरु आफैंले उत्पादन गर्ने सँचालक बस्यालले बताए । सानो स्क्रु देखि लिएर प्लाष्टिकजन्य तथा फाइबरजन्य सबै एक्सेसरिज आफ्नै उद्योगमा उत्पादन गरिने उनले बताए ।
हेलमेटको अगाडिको शिशालाई लात्ताले हान्दा पनि नफुट्ने गरी गुणस्तर कायम गरिएको दावी उनको छ । हेलमेट राम्रो मात्र भएर नहुने भन्दै उनले यसलाई सुरक्षाको दृष्टिले पनि गुणस्तरीय हुनुपर्ने भएकाले आफ्नो ध्यान गुणस्तरमा नै रहेको बताए ।
नेपालका यामाहा र रोयल इनफिल्ड मोटरसाइकलका डिलरले कोहिनुर कै हेलमेटलाई आफ्नो ब्राण्डको रुपमा बिक्रि वितरण गरिरहेका छन् ।
माग अनुसार अन्य कम्पनी वा डिलर अथवा व्यापारीले आफ्नो ब्राण्ड–नेम अनुसारको प्रिन्ट गरी उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।
नेपालका अधिकाँश दुई पाँग्रे सवारीसाधनका डिलरहरुले कोहिनुर कै हेलमेट र लेगगार्ड बिक्रि वितरण गर्छन् ।
गुणस्तरलाई ध्यान दिई सस्तो मुल्य देखि आकर्षक र स्तरीय हेलमेट उत्पादन गर्ने भएकाले प्रायः कोहिनुरकै हेलमेल बिक्रिका लागि राख्ने गरेको बताउँछन् रोडिज हेलमेट सेन्टर, नेपालगञ्जका सँचालक तपेन्द्र खड्का ।
तर सरकारको कमजोर नीतिका कारण भने समस्या भएको उद्योगका सँचालक सुमन बस्यालको भनाई छ ।
तयारी हेलमेट आयात गर्दा लाग्ने भन्सार महसुल भन्दा हेलमेटको कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल बढी लाग्ने हुँदा आयातित हेलमेटसँग प्रतिष्पर्धा गर्न गाह्रो भएको उनको भनाई छ ।
उनको भनाई अनुसार आफुले हेलमेटको कच्चा पदार्थ आयात गर्दा ६६ प्रतिशत सम्म भन्सार महसुल तथा कर तिर्नु परेको छ ।
सरकारले कच्चा पदार्थ वा तयारी वस्तु आयात गर्दा कमसेकम समान भन्सार महसुलको व्यवस्था गरेपनि स्वदेशी उद्योगको प्रवद्र्धन हुने विश्वास गर्दछन् ।
उनको उद्योगमा हाल स्किल्ड र सेमिस्किड गरी करिब ३ सय भन्दा बढी नेपालीहरुले रोजगारी पाएका छन् ।