अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफमा विमान दुर्घटना

अस्ट्रेलियाको ग्रेट ब्यारियर रिफस्थित टापुमा सोमबार विमान दुर्घटना हुँदा १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सोमबार बिहान १० जना सवार विमान केअन्स्रको लागि उडेको केही समयपछि ब्रिसबेनबाट करिब एक हजार छ सय किलोमिटर उत्तरपश्चिममा रहेको लिजार्ड आइल्यान्डको धावनमार्गमा फर्किरहेको अस्ट्रेलियाली पत्रिकाले जनाएको छ।

आरोहणका क्रममा टाउन्सभिल एयरलाइन्सद्वारा सञ्चालित सेस्ना २०८ को इन्जिनमा प्राविधिक समस्या भएको संकेतपछि चालकले ‘लिजार्ड आइल्यान्ड’मा फर्कने प्रयास गरेको अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोका प्रमुख आयुक्त एंगस मिचेलले बताए।

विमानमा सवारहरूलाई गम्भीर चोटपटक लागेको मिचेललाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय समाचार वेबसाइट न्युज डट कमका अनुसार क्विन्सल्यान्डको सामुदायिक स्वास्थ्य केन्द्र (क्विन्सल्यान्ड हेल्थ)ले घाइते सबैलाई केअन्स्र अस्पतालमा लगेको थियो।

घाइतेहरूको अवस्था सामान्य रहेको छ।

क्विन्सल्यान्ड एम्बुलेन्स सेवाका ब्रिना किटिङले दुर्घटनामा घाइते भएकामध्ये एकजनाको हातमा तथा अर्काको टाउकोमा गम्भीर चोट लागेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *